कविता:

राजेश्वर कार्की
हारेको सहर
ठूलो सपना भत्किएपछि
भत्किएको सपनाको सानो टुक्रा पनि
निकै प्रिय लाग्दो रहेछ
जब सहरको धूलोले रहर सम्पूर्ण ढाकियो
आज बृहत् आकाङ्क्षा बोकेर उभिएको मान्छे
सडकको धूलो र हिलोले पुरिएर
स्ट्याचू भएको छु
यसैले म मान्छे त हुँ, तर मेरो आवाज छैन
म मान्छे हुँ, तर हिँड्न सक्तिनँ
आँखा छन् र देख्छु, तर हेर्न सक्दिनँ
टुँडिखेलको बीचमा उभिएर केवल देखिरहेछु
भत्काउने बजेटसँग बनाउने बजेट छैन
रूख सोत्तर पार्ने जोस छ, तर रोप्ने जाँगर छैन
कोही बोल्दैनन्
बनेको छ—
मात्र स्ट्याचूहरूको सहर !
र, आज यो ठूलो सहरमा टुक्रिएर छरिएकामध्ये
सानो टुक्रा सपना मुठीमा कसेर
बाँकी जिन्दगीको हिसाब सोचिरहेछु...
अब त सानो टुक्रा सपना पनि बढी लाग्दो रहेछ !


















