कविता:

राजेश्वर कार्की
बेहोस सारथि
एकादेशको प्रमुख सहरमा
सारथिहीन एउटा भुस्याहा कुकुर
जो, जता मन लाग्यो उतै हिँड्थ्यो
घुइँचो सडकमा मनलाग्दी बाटो काट्थ्यो
उसलाई कहिल्यै मृत्युको डर भएन
ट्राफिकको सट्टा एउटा साँढे बीचबाटोमा बस्थ्यो
ऊ पनि सुरक्षित थियो
उसलाई पनि कहिल्यै मृत्युको डर भएन
एकदिन अचानक आकाशवाणी भयो—
“यदि कसैले पनि नियमकानुन उल्लङघन गरे
अब देश रहनेछैन !”
त्यसपछि मानिसबाहेक उनीहरुले आफूलाई
जेब्राक्रसिङबाट हिँडाउन सुरु गरे ।
जब उनीहरु ढुक्क भएर जेब्राक्रसिङबाट बाटो काटिरहेथे
मानिसको गाडीले जेब्राक्रसिङमै ठक्कर दिएर हुइँकियो
उनीहरु ठाउँका ठाउँ ठहरै भए !
जथाभावी हिँड्ने मानिसहरुचाहिँ सुरक्षित थिए !
त्यहाँ मर्नेहरुका खुला आँखाहरुले भने
जथाभावी हिँड्ने ती मानिसहरुलाई
एकोहोरो हेरिरहेका थिए !
पृष्ठभूमिमा यो गीत बजिरहेको थियो—
“यस्तै रहेछ यो देशको चलन !
हार्नेको आँसु–आँसु, जित्नेको हाँसो...
कसले सुन्ने अन्याय पर्नेको गुनासो !”
र त्यो दिन एउटा प्रमुख समाचार छापिएको थियो—
“छिमेकी देशमा एउटा कुशल सारथिको नेतृत्वसहित हजारौँ हाँसहरुले लामबद्ध भएर
सयौँ किलोमिटरको राजमार्ग सफलतापूर्वक छिचोलेका छन् !”
अचानक आकाशबाट
मात्र एउटा मान्छेको शिरमाथि पुष्पवृष्टि भयो
ऊ त्यही कवि थियो
जसले देशलाई धड्कनमा राखेर हृदयमा यो कविता लेखिरहेथ्यो...!


















