कविता:

होम परिबाग
मेरी मातृभूमि
एउटा त्यस्तो देश छ; जो अन्त कतै छैन
जो जति सुन्दर छिन् त्यो अन्त कतै भेटिन्न !
हाम्रो मातृभूमि, नेपाल !
हिमश्रृङ्खला, पहाड, समथर र उपत्यकाहरू
हरियाली अनि स्वर्गसरिका तरेलीहरू
बाहिर शान्त र उज्यालो जताततै र पनि
स्वीच्ड अफ जिन्दगीको धड्कनसरि
अँध्यारामा मानिसहरू !
लाग्छ, उनीहरू साधारण अनि शीतल छन्
तर अहम् र छलको बल साथमै छन्
सम्पन्न तर नजरमा गरिबजस्तो
चलाख तर व्यवहार लाटोजस्तो
कुटिल र जाली सौन्दर्यले हृष्टपुष्टजस्तो
तिनीहरू कथित जननेताहरू हुन्
जो आफै अलमलमा छन्
हजारौँ शब्द खर्चेर पनि
जो अझ बोलिरहेकै छन्
र उनीहरू आफैमा दंगदास पनि छन्
तर गरिबको पोल्टामा भने
केवल दुख र अवशादहरू छन् !
भूमि जो स्वर्गकै सरि
मेरो अनि तिम्रो सुन्दर भूमि
हृदयमा जनता हुनुपर्छ,
ती अनावश्यक चलाख,
असत् अँध्यारा र राक्षसीय आँखा
अनि जाली मुस्कानजस्ता
फटाहा, लोभी, चोर र चकारको दायराभन्दा पर
उत्तम मात्र होइन, अति उत्तम बन्नु छ
मेरी मातृभूमि ए भूमि !
जसले अरु सबै भूमिको रहस्य ग्रहण गर्छिन्
यसमा साँच्चै नै तिमी सुखी र खुशी हुनेछौ,
हो, म निर्धक्क महसुस गर्छु
त्यो तिमीलाई पनि थाहा छ,
तिमी साँच्चै नै खुसी हुनेछौ ।
तिमी स्वच्छ हुनेछौ
कि कसैद्वारा तुरुन्त स्वच्छ बनाइनेछ,
तिमीलाई नुवाइ, धुवाइ गरिनेछ
तर, तिम्रा–हाम्रा रगतले होइन
आनन्दी, सफलता र गर्व महसुसको अश्रुधाराले
तिमी स्वच्छ हुनेछौ
हाम्रो मातृभूमि, नेपाल !
तिमीलाई सबै राम्रै हुनेछ
तिम्रा छोरा र छोरी छन्
जसलाई टाढा दूर सुदूर
पठाइएका छन्
केही सिक्न, केही पाउन र केही गुमाउन !
लाग्छ, तिनीहरू; जसको कुनै भूमि नै छैन, जसको कुनै जीवन नै छैन !
तिनीहरू सबै घर फर्कनेछन्,
उनीहरूले आफ्ना निधार आदरले तिम्रा निधारमा समाहित गर्नेछन् !
तिम्रो हाम्रो उच्च शाखको उचाइमा
तिमीलाई जुरुक्क उचालेर पुर्याउनेछन्,
उनीहरुले झूठो बोल्ने छैनन्
तिमीलाई बदनाम र बेरूपको बनाउन,
र बिक्री गरेर तिमीलाई ध्वस्त पार्ने छैनन्
तिमी केवल तिमीजस्तै हुनेछौ
रित्तिनुबाट मुक्त
सानन्दी, हाँसो र जवानीले भरिपूर्ण
ए मेरी मातृभूमि,
तिम्रो प्रतीक्षाको घडी समाप्त भइसकेको छ
अब नजिक धेरै नजिकै छन्
सौभाग्य, गर्व र खुसी !
शान्ति त्यहीँ आँखामा
नजिकै, तिम्रो जीवनकै सामुन्ने छन् ।
ए ! मेरी मातृभूमि
र तिम्रो भूमि मातृभूमि !
ए मेरी मातृभूमि !
सबै भूमिहरूको ज्योति तिमी,
जीवनमा तिमी जति सुन्दर छौ
मान्य र गजव मस्तानी छौ,
हामी सबै तिम्रै हौँ,
वास्तवमा सबै तिम्रा सन्तान नै हौँ
जब तिमी सत्य, प्रेम, निष्ठा र आभाजस्ता
उज्यालो धारण गर्छौ
लाग्छ, जरुर तिमी मेरी मातृभूमि हौ
हाम्रो मातृभूमि, नेपाल !!


















