कविता:

महेश पौड्याल
शिसा
सबैभन्दा शक्तिशाली जङ्गी योद्धाको मृत शरीर
सबै अनुयायीले चीरकालसम्मद देखून् भनेर
किन काँचको बाकसभित्र राखे उनीहरूले
विशाल सहरको मध्य चोकमा?
र किन हाडछालाका मान्छे खडा गरे
त्यसको सूरक्षा र रखवालीमा?
तातोमा पनि चर्कन्छ काँच
चिसोमा पनि चर्कन्छ
जङ्गी योद्धाको वर्तमानजस्तो
जङ्गी योद्धाको भविष्यजस्तो
घाममा पनि पग्लन्छ मन्छे
वर्षातमा पनि पग्लन्छ
जङ्गी योद्धाको सपनाजस्तो
जङ्गी योद्धाको विपनाजस्तो
सिसा हटाएर
र हाडछालाका क्षणभङ्गुर रक्षक हटाएर
हृदयको बाकसभित्र
बस्न सक्छ कि सक्दैन
जङ्गी योद्धाको लाश, कुनै दिन?


















