कविता:

महेश पौड्याल
सालिक र आँखाहरू
धेरै वर्ष
मान्छेका आँखाबाट हेरेँ यस सहरलाई
दिउँसो, घामको उज्यालोमा
राति, बत्तीको उज्यालोमा ।
भर्खरै एक दिन
सालिकका आँखा पैँचो मागेर हेरेँ एकैछिन्
र देखेँ, सहरभरि, दिनभरि र रातभरि
सन्दिग्धताका अनगिन्ती अध्यायहरू ।
त्यसै बेलादेखि
मन–मस्तिष्क जमेर म
सालिक भएँ ।
मलाई अचेल
सालिकको औधी माया लाग्न थालेको छ ।


















