कविता:

महेश पौड्याल
घाम
उहिले, बाबाको घरमा छँदा
कति ढिलो अस्ताउँथ्यो घाम !
सबै सबै काम सकेर पनि
धेरैबेर खेल्थ्यौँ हामी हाराबारा
बरपीपल डाँडामा ।
अहिले, खसमको घरमा हुँदा
कति छिटो अस्ताउँछ घाम !
असरल्ल छोडेर आँगन र जुठेल्नाभरि काम
छरिदिन्छ अँध्यारो,
मैले कुरिबस्ने बरपीपल डाँडामा ।



















