नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


सुमन पोख्रेल

तिमी जसरी छ्यौ


कुनै न ज्यूँदो जीवनको किनारमा उभिर्इ
बहन छोडेको हावाजस्तो नभएको कुनै आकृतिलार्इ
अँगालो हालेर
बाँचेको भनी निस्तो मातमा रमाइरहेको हुने थिएँ।

आजसम्म अरूले अर्थ लगाइदिएकैलार्इ
शीतलता भनिरहेको हुने थिएँ,
गुलाब वा त्यस्तै कुनै हृदयविहीन फूलको सुगन्धबाटै
लठ्ठिइरहेको हुने थिएँ,
यदि तिम्रा अनुरागका कोमल आभासहरूले
मेरो हृदयका परागहरूमा
स्नेहिल सुगन्ध छर्दैनन् थिए भने।
मेरा गीतका मुर्च्छना,
मेरा कविताका विम्बहरू,
मेरो जीवनकथा,
पात झरेका रुख-रुख चहारिहिँड्‍ने
खडेरीको हावाजस्तै सौन्दर्यविहीन
बिना गन्तव्य
पट्यारलाग्दो लठेब्रो दौडाइ कुदिरहेका हुने थिए।

घामका किरण
प्रत्येक बिहान जीवन बोकेर
मेरा उमङ्गलार्इ उकास्न आउने थिएनन्‍।
मलार्इ गीत सुनार्इ उडिहिँड्‍ने चराहरूले
आफ्ना स्वरमा मनदेखिको प्रेम भरेर
गाउन जान्ने थिएनन।

तिम्रा कोमलतम् शब्दले समेत भाँचिन खोज्ने
प्रेमजत्तिकै कोमल मेरो मन चिमोटेर
नभत्काइदिँदी हौ बँचाइको लय कहिलेकाहीँ त,
प्रेमको आधा रहस्य बुझ्दै नबुझी
जीवन सङ्गीतमय भएको थाहै नपार्इ
जीवन भनी
रित्तो समय उक्लिएर उम्कने थिए
मेरा भोगाइहरू।
आफ्ना आकाङ्‍क्षाका अनगिन्ती रङ्गीन छटाहरूले
जसरी सजाएकी छ्यौ
जीवनका मेरा दृश्यहरू,
त्यसो नहुनु हो भने,
सृष्टिका सौन्दर्यको भ्रमित व्याख्या गरेरै
ओइलार्इ झरिसक्ने थिए मेरा इच्छाहरू।

मेरो जीवनका जुन धुनहरूमा
जसरी छ्यौ तिमी
त्यसो नहुनु हो भने,
सामर्थ्यले सम्पूर्ण भरिएर
हजार जीवन बाँच्ने रहर बोकी
उभिएको छ जो
तिम्रा सामु
त्यो म हुने थिएन।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु