विश्वसाहित्य:

स्टेन्ली कुनिज (अमेरिका)
मलाई स्पर्श गर
बर्खा विलम्बित छ, प्रिया ।
चालीस वर्षअघि
म प्रेममा पागल रहँदा
र दुई भागमा विभक्त रहँदा
हावाबाट उखेलिएका शब्दहरू
हावाको सुसेली र वर्षातमा
पातजस्तै छरिएका छन् आजको रात ।
प्रिया, विलम्बित भएको त मेरो हृदय हो
उडि गएको त मेरो गीत पो हो ।
बाहिर, पूरा अपराह्न
धमिलिएको आकाशमुनि
मेरो आफ्नै बगैँचामा सीमा–स्तम्भ लगाउँदै
म फट्याङ्ग्राको किर्किरअगाडि झुकेँ
धेरै तल,
मानौँ उनीहरूकै खस्रो आवरण फोरेर
म बाहिर निस्कँदैछु
र त्यस्तो सूक्ष्म यन्त्रबाट
यति स्पष्ट र साहसी सङ्गीतको प्रवाह सुन्दा
कुनै बालजस्तै अचम्मित छु ।
केले चलाउँछ यो यन्त्र?
इच्छा, इच्छा, इच्छा !
कुनै नृत्यको अभीप्सा
पुनः उठेर आउँछ पुरिएको जीवनमा ।
केवल एक मौसम,
र पुनः यो शिथिल हुन्छ ।
पुरानो विक्षत विलोको रुख लडोस्
र झ्यालको सिसामा बज्रियोस्
घरका सबै डाँडा र निदालहरू भाँचिऊन् ।
प्रिया, के तिमीलाई सम्झना छ
तिमीले बिहे गरेको पुरुषको?
आऊ, मलाई स्पर्श गर
र मलाई म को हुँ, सम्झाऊ ।
अनुवादः महेश पौड्याल


















