कविता:

शुभलक्ष्मी लम्साल
ढुङ्गे युग
ढुङ्गे युग बाँच्छु म
ढुङ्गामा ढुङ्गा ठोक्काएर
अलिकति ताप खोज्छु,
बाँच्नका लागि।
ढुङ्गामै जीवन खोपेर
जीउनुको नाममा सीँउडी फुलाउँछु,
लाखौ चोटी मृत्यु जीउछु।
आश्रयको सानो छाप्रो बनाएपछि
इच्छाहरु बलेसीमा सजाएर
भोक चुहिन्छु ...,
शोक चुहिन्छु ...।
म मान्छे
आधुनिकताको खोल ओढेर
आज पनि
ढुङ्गे युग बाँच्छु,
ढुङ्गे विचार बाँच्छु।


















