कविता:

सामना पहाड
बुर्का
मात्र तिमी र तिम्रा आमाहरु छौ
शदियौँ देखि गुम्सिएका
काला , निला, अँध्यारा बुर्काहरुभित्र
लाग्दो हो अप्सना तिमिलाई
सोच्थेयौँ , त्यी तिम्रा जर्जर संस्कार
र
बुर्का भित्रको जिन्दगी
कति दर्दनाक हुदोँ हो
सोच्थेयौ, निरिह छौ तिमिहरु
र
कैद छन तिम्रा उन्मुक्त रहरहरु
नपुगुन् बुर्काहरु कदापि
पाठशालाका गेट हल्लाउन
नतानून् आजीवन स्वाधीन सपनाका
केरमेर धर्काहरु
चेतनाका घामहरुले
खाँदिरहुन् अनुहार, मर्यादाका खोलभित्र
नसकुन् तृष्णाको सागरभित्र
सवेगका भानु डुबाउन
उद्धत नहुन् मजेत्रा र गम्छाहरु
छिल्लिदैँ साँझपखको चन्द्रमा खोज्न
बगिरहुन् अविरल सहनशीलताका गङ्गाहरु
सबै ओडनी र सप्काहरुभित्र
झस्केका छौँ यतिखेर
हर कोहि आमाहरु
कति कैद रहेछौँ
कथित संस्कार र आचारसंहिताका हरफहरुभित्र
बौद्ध,इस्लाम, हिन्दू या ईशाइको
सप्को ओडेका आमाहरु
कथित धर्मका श्लोकहरुले
यो या त्यो दर्शनका बखेडाहरुले
सिलाइ रहेका रहेछन
ओडाइ रहेका रहेछन
कथित मौलिक, आधुनिक
र उत्तरआधुनिक बुर्काहरु
ए हर ध्रुव
र
हर कोणका आमाहरु हे
के च्यात्नु पर्दैन हामीले अब ?
चाहेर वा नचाहेर भिर्नुपरेका
भौतिक वा अभौतिक बुर्काहरु


















