नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


मोमिला

नगरवधूको वक्तव्य

एकादेशको कथामा वर्णित राजकुमारजस्तो—
मेरा सोल्टीराजै !
आज बेस्सरी हुरी चल्दा
उहिले हुर्रिएर तिम्रो अँगालोमा बेस्सरी बाँधिएको सम्झेँ
आज बेस्मारी आकाश गर्जिँदा
उहिले तिम्रो छातीमा शिर लुकाएर
गर्जनको सट्टा तिम्रो धड्कन सुनेको सम्झेँ
आखिर यात्रा त हाम्रो प्रेमकै जस्तो लागेको थियो
तर, प्रेमको बहानामा कस्तो विचित्र पर्खाल अग्ल्यायौ तिमीले
तिमीसँगै मेरा सारा सपनाहरू पर्खाल बाहिर परेका छन्
..............
बुझ्यौ ! एक दिन यो बडेमाको पर्खाल भत्काएर
मबाट बिछोडिएका मेरा सारा सपनाहरू
जरुर आफ्नै अँगालोमा फर्काउने छु
त्यतिन्जेलसम्म सानो विरुवा जतनले हुर्काएजस्तै
तीक्ष्ण कलमको पर्खाल अग्ल्याएर भए पनि
मेरा एकमुष्ट सपनाहरू सम्हालेर राख्न भनी
कवि वासु शशीलाई भन्दिनू !
कविलाई जस्तै मलाई पनि पर्खाल रत्तिभर मन पर्दैन...
तर, कहिलेकाहीँ पर्खालको जवाफ पर्खाल अग्ल्याएर नै दिनुपर्दो रहेछ !
सबैसबैलाई खुलेर भन्दिनू !

सोल्टीराजै !
तिमीले दिएको रातो गुलाफकै कसम !
कुनै दिन तिमीले मलाई विश्वासको सिन्दूर भरेर
यो पर्खालभित्र आफ्नी बधू बनाई भित्र्याएका थियौ
तर, मेरो निधारमा नगरबधूको धब्बा लगाइदिएर
तिमी कहाँ कहाँ उडिरह्यौ
मलाई बेचे पनि
मसँगै तिमीले बेच्न नसकेको मेरै प्रेमको कसम !
म पर्खालभित्र नरकमा यहाँ कुँजिरहेँ...
तिमी गाउँमा मेरै घरको आँगन भएर
स्वर्गैतिर वेग मारेझैँ निर्लज्ज घुमिरह्यौ

राजै ! अझ सुन्दै छु—
आजै, यत्तिखेर आफ्नो कोटको टाँकमा अल्झिएका
कपालका लामा रेसाहरूको फरफर तालमा
तिमी महिला मन्त्रीको शपथ लिँदै छौ रे !
तिमीलाई थाहा छ कि छैन !
तिम्रो शपथमा झन्डा फरफराएझैँ फरफराइरहेको त्यो कपाल त
हाम्रो सुहागरातमा सिरानीमा झरेको प्रेमको चिनो भनी
मैले नै तिम्रो कोटको टाँकमा सिउरिदिएकी थिएँ नि !
के गर्नु ! सबैभन्दा ठूलो घात आफ्नाले ने गर्दा रहेछन् !
आखिर, डिएनए परिणाम किन उल्टो भइदियो ?
सूर्यलाई कुन्तीले सोध्या छ भन्दिनू !

सानोमा आमाले नजर लाग्ला भनी कालो टीका लगाइदिनुहुन्थ्यो
बिचरो ! फुच्चे कालो टीको !
तिम्रो जाली नजरको बडेमाको धब्बाले यसै छोपियो
आज म तिमीबाट लाञ्छित नगरबधू,
आफ्नै यौवनको सागरमाथि सम्पूर्ण मरुभूमि फैलिएको छु !
र यो पर्खालभित्र आफ्नै जीवनको भूताहा कालो छायाँ बनेर
आफैलाई तर्साइरहेछु...!

राजै ! एकदिन मेरो जीवनको त्यही भूताहा कालो छायाँ
तिमीलाई तर्साउन जरुर आउने छ
र तिम्रो गर्विलो कुर्सीमा शानले बस्ने छ
त्यतिखेर तिम्रो पापी आँखाले सत्य मलाई देख्ने छैनौ

सट्टामा
मान्छे बसेर भरखरै उठेजस्तो
हल्लिरहेको आराम कुर्सीमात्र देख्ने छौ

त्यतिखेर तिमी डराएर भाग्दा
द्वारमा सुरक्षार्थ तैनाथ तिम्रा द्वारपालहरू
मेरै आदेशले तिमीलाई हतकडी लाउन कुरिरहेका हुने छन्
देख्नेबुझ्ने जोजो हुने छन् सबैले यो सबसे खुसीको कुरा
सर्वप्रथम गाउँमा सबसे दुःखी मजस्तै मेरी आमालाई भन्दिनू

हो, अचेल उज्यालोले मसँग पटक्कै आँखा जुधाउँदैन
मेरा आफन्तहरू पनि अचेल मसँग बोल्ने मनै गर्दैनन्
सायद, उज्यालोले मलाई अति कुरूप देख्दो हो
सायद, आफन्तले पनि मलाई
आफ्नो इज्जतको उचाइसँग नमिल्ने पुड्को देख्दो हो

आमा !
यत्तिखेर मेरो उचाइ स्वीकार गर्न नचाहने पुरुषविनाको प्रकृति म
गर्जनकारी हुरी, बादल र नदीको सारथि म
आफैमा छिन्नभिन्न भएर
आफैमा धुजाधुजा फाटिएर या
आफैमा उर्लिएर, पोखिएर
आफ्नै कर्मको गाढा रङले
मेरो भाग्यमा लागेको कालो धब्बा मेटाउन चाहन्छु
.............................
आमा ! कुनै बेला मेरा कलिला हातले पूजा गर्ने गरेको देवी बस्ने थानीमा
अब, त्यो कालो तिलकमात्र होइन
तिलकसँगै धारिलो तरवार पनि कसै गरी सम्हालेर राखिदिनू !
....................................
सोल्टिराजै !
यत्तिखेर तिमीले नै अग्ल्याएको पर्खालभित्र तिमी
र पर्खाल बाहिर म
मेरो काखमा तिम्रो सन्तान
ढोकामै तिम्रो शरण होइन, बाबुको आशीर्वाद पर्खिरहेछ !

प्रिय !
प्रेम र अहम्
एउटै सिरानीमा कहिल्यै चैनले निदाउन सक्दैन
जीवनको सहयात्रा हिँडिरहेका सबैसबैलाई भनिदिनू !







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु