नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

निबन्ध:


मोमिला

कोष्ठकभित्रका पीडाहरू र फुटनोट्स

प्रिय संवेदन !

...कुनै स्थायी ठेगानारहित जीवनको रङ्गमञ्चीय सिलसिलामा अभिनेताका कोष्ठकभित्रका पीडाहरूबाट लाग्छ, दर्शकहरू युगौँदेखि समयको कुनै प्रश्नविना नै अनभिज्ञ रहेका छन् र रहनेछन् !

यतिखेर नाटकको पर्दा झरिसकेको छ, मञ्चको रौनकतामा पूर्णतः मध्यरात खसिसहेको छ । सारा दर्शकहरू नाटकको रसास्वादनपछिको विरेचित मन लिएर नाट्यशालाबाट आ–आफ्नो गन्तव्यतिर हिँडिसकेका छन् । अन्य सबै पात्रहरू, अभियन्ताहरू, सहयात्रीहरू पनि हिँडिसकेका छन् । एकछिनअघिको रमझम, उज्यालो, सङ्गीत, अपनत्वको भूमिका र आफ्नाजस्ताहरू अब कोही पनि बाँकी छैनन् । यतिखेर मातापिता अनि पति तथा पुत्रको भूमिका निभाउने सबसे प्रिय आफन्तहरू पनि सबै सायद आ–आफ्नै घरमा आ–आफ्नै परिवारसित विशेष माहोलमा होलान् । प्रेमी पनि बहकिएर कुनै खण्डहरमा आफ्नो अस्तित्व खोज्दै होलान् । यहाँ त बस् अँध्यारो ! सन्नाटा ! नीरवता ! मौनता ! घाँसहरूले डम्म ढाकेको बषौँ पुरानो एकान्त चिहानशालाजस्तै...। यस नाट्यशालाकै पहरेदार पनि खै कता हिँडेछन् ! वास्तविक यात्रा त आखिर एक्लो न हो ! खालीपन, शून्यता र एकान्तसँगै मरुभूमिमा प...र धूमिल धूमिल एक्लो ठिङ्ग उभिएको सुकेको रूखजस्तो आकृति लिएर मात्र एकछिन अगाडिकी नायिका म, यो रित्तो मञ्चमा विमूढ–विमूढ उभिएकी छु र तिमीलाई कोष्ठकभित्रका केही कुरा हृदयतः बताउन चाहन्छु; जो आजसम्म अव्यक्त नै रह्यो ।

प्रिय सम्बोधन ! हेर न ! सूत्राधार पनि नाटकको सूत्र पेस गरेसँगै नाटकको प्रारम्भतिरबाटै अलप छन् । नेपथ्यमा कोही छ ?......?? अहँ कुनै आवाज छैन ! नाटककार पनि कतै कुनै नयाँ नाटक पो सोचिरहेका छन् कि या नाटकको भूमिका–बाँडफाँड सोचिरहेका छन् या आफ्नै जीवनको भूमिका निर्वाह गरिरहेका छन्, कुनै अत्तोपत्तो नै छैन । सायद, मलाई मेरै भूमिकामा एक्लो छाडेर कुनै दर्शकको घरमा कफीसँगै वाह ! वाह ! को प्रशस्ति पिउँदै होलान् या त कुनै पात्रको घरमा भूमिका बदल्दिने सर्तमा मस्त घुस खाँदै होलान् । मलाई भने कुनै घुसबिना नै नाटककारले जुन भूमिका दिए र निर्देशकबाट जुन भूमिकाका लागि म चुनिएँ; त्यही भूमिका मैले इमान्दारपूर्वक निर्वाह गरेँ । उनीहरूको भूमिका र इशारालाई काफी न्याय दिने म अहिलेसम्म पनि त्यही सिमानाभित्र सीमान्तकृत छु । मानौँ जिन्दगीको यो ट्रान्जिटबाट मुक्त हुने कुनै सम्भावना नै छैन । तर, के त्यो नै मेरो सम्पूर्ण परिचय हो त ! के त्यसबाहेक मेरो कुनै परिचय छैन ! मेरो कुनै अस्तित्व छैन ! कुनै सत्ता छैन ! म आफू आफै बनिरहनुको मेरो स्वतन्त्रता खै ! मेरो आत्माको आवाज जो म सुनिरहेछु; त्यसको सार नाटकमा किन रहेन ! नाटककार किन त्यस्तरी पूर्वाग्रही बनेका होलान् ! मानौँ नाटकका सारा संवादहरू मैले भुलेँ रे ! अर्थात् जुन चरित्रलाई मैले जिन्दगी दिएँ या जुन चरित्रमा मैले सास फेरेँ; भूमिकाअनुसारको त्यो म हुँदै होइन भने म के गरूँ ! म कसरी जिऊँ ! मेरो वास्तविक परिचय खै ! मेरो ठेगाना खै ! खासमा मैले आफूअनुसारको भूमिका पाउनुपर्ने होइन र ! कि त मलाई भूमिकाअनुसारको दुरुस्त बनाउनुपथ्र्यो, ता कि नाटकको अन्त्यपश्चात् पनि मैले आफैसँग नाटक गरिरहन नपरोस् ! कि त मैले नाटकमा भाग लिनै हुन्नथ्यो, कम्तीमा मैले यसरी कोष्ठकभित्र निसास्सिनुपर्ने त थिएन !

ठीक छ अब म आफूअनुसारको भूमिकासहितको अर्को नाटक लेख्न चाहन्छु । के म स्वयम् नाटककार हुन सक्तिनँ ! के म स्वयम् मेरो भूमिका बदल्न सक्तिनँ ! तत्क्षण म मेरो वास्तविक ठेगाना पत्ता लगाउन चाहन्छु; जो मेरो आत्माले बार–बार पुकारिरहेछ । ओ मेरो जीवनका लेखक ! ओ मेरो निर्देशक ! ओ मेरो ईश्वर ! आज म स्वयम् मेरो जीवनको नियति बदल्न चाहन्छु !...!!....के तिमीलाई कुनै आपत्ति छ ?...!!!

प्रिय संवेदन ! बुझ्यौ होला मेरा कोष्ठकभित्रका प्रश्निल पीडाहरू ! यसमा तिमी नै त हौ आखिर मेरो साथ ! मात्र तिमी; जो मसितै चितामा जल्नेछौ र नाटकमा अन्य पात्रको भूमिकाका लागि खुलेआम स्मृतिमा छाड्नेछौँ हाम्रा कोष्ठकभित्रका प्रश्न र पीडाहरू । तिनीहरूलाई हामीले नै छाडेर गएको रङ्गमञ्चमा प्रदर्शन हुने कुनै अर्को नाटकका पात्रहरूले सम्बादका रूपमा घोक्नेछन्, सायद !........!! हुन त मेरो समयका बिन्दास लेखक नगरकोटी कहिलेकाहीँ रचनाको मूल पाठभन्दा फुटनोट्स नै मन पराउँन् । तर, आम सन्दर्भ हेर्दा गेलहर्नले जस्तै कसैको जीवनकथाको फुटनोट हुन नचाहे पनि आखिर हामी कुनै अर्को नाटकको उही फुटनोट्समा लेखिनेछौँ !! सायद हाम्रो अस्तित्व !...!! अफसोसका साथ भन्नुपर्दा जसरी मातापिता पनि समयक्रममा सन्तानका फुटनोट्स बनिदिन्छन्...!...!!...!!!







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु