नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


मोहराज शर्मा

आमा ! जुन उदाउला र ????

आमा !!!                                                       
तिम्रो घाउ दुख्दैन भने, मैले एउटा कुरा भनुँ ?                     
तिम्रो काखमा तेर्सो परेर घटघटी दुध पिएको कुरा,
आखाँमा आँखा जुधाएर,
फाटेको वेला मन सिएका कुरा 
आफु अचानो वनेर पनि ।
मलाई काखे वनाएर, मलिन मुस्कान सँग मख्ख पर्थेउ ।
आफ्नो गलो कटाएर,
पुल्पुलाउँदै भन्थेउ, कोखाइ, कोखाइ, ह्वाम्म’
आँसी-खुर्पेटो, डोको नाम्लो,
कुटपिस, ढिकी-जाँतो, भित्र बाहिर
मेलापात, बुर्हातन,
यि सब कुरा छिचोलेर,
च्याप्प समातेर, ग्वाम्ल्वाङ्ग वेर्दै न्यानो अँगालोमा, चुप्प म्वाई खान्थेउ,
खपि नसक्नु स्नेह, बर्षाउथ्यौ म माथि,
कति विशाल छाती होला मेरा लागि अविरल बगिरहने,
कति गुना ठूलो आकाश होला तिम्रो मन भित्र,
म पूर्ण चन्द्र बनेर उदाउने आशामा ।

आमा !!!
मलाई शंका छ
त्यो विशाल आकाशमा 
प्रकाश नपोख्ने अर्ध चन्द्र उदाउँछ या,
शशिकला युक्त चन्द्र चाँदनीले पूर्ण आकार लिन्छ ।

तिमी नछुनी हुँदा,
सिकुवामा खाना खान्थ्यौ,
कहिले काँही हेपिन्थ्यौ घरेलु संस्कारबाट
आज थाहा भो
त्यो बेला तिमीलाई स्याहार चाहिन्थ्यो ।
विडम्बना न कसैले स्यहार गर्यो
न कसैले प्यार गर्यो
कहिले काँही बर्खे झरी खस्थे तिम्रो आँखाबाट 
कहिले बादल फाटेर छ्याङ आकाश खुले जस्तै हुन्थ्यो
मलाइ हेरेर ।

आमा !!!
तिम्रो आशाको त्यान्द्रो कति झिनो छ भन्ने कुरा
मलाई मात्रै छ ।
तिमीले कति बर्खा वितायौ, त्यही चर्खामा
तिमीले कति पुस वितायौ, त्यही उकुस मुकुसमा,
हेर्दा हेर्दै केश फुलाउँदै छौ तिमी ।
जुन उदाउने आशामा मनको आकाशमा

यति खेर मं सँग धेरै प्रश्न छन्
तिमी जहाँ छौ म त्यहाँ छैन
कसरी घाम दिन सक्छु र ?
इमान हराएको देशमा
कसरी राम दिन सक्छु र ?

मलाई जन्माउने तिमी, तिमीलाई जन्माउने यो माटो
यही माटोमा फाटो छ अहिले
न निति मिल्छ न नेता मिल्छन्
न रीति मिल्छ न थिति मिल्छ
त्यसैले विश्वास हराएको वेला
आफ्नौ बाटोको माटो हराएको बेला
आफ्नौ देश हराएको बेला
शेष नरहने गरी अवशेष हराएको वेला
कसरी भनूँ तिम्रो आकाशको जुन पुरै उदाउँछ भनेर ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु