विश्वसाहित्य:

माइकल ओन्दात्जे (श्रीलङ्का)
किनाराको रातो पहरोमाथिको घर
मिरिस्सामा ऐना छैन ।
समुद्र पातहरूमा हुन्छ
र लहरहरू ताडका वृक्षहरूमा ।
पुरानो भाषा सरु सल्लाको हाँगामा हुन्छ ।
यो परम्परा हो, परम्परा
अनेकौँ पिँढीदेखिको
हजुरबाले रोपेको त्यो चम्किलो रुख
आगाको लप्काहरू खेपेर पनि
धुरीमाथिसम्म अग्लिएको छ
बिनाबन्धन
कुनै खुला जालमा अवस्थित घरजस्तो
जहाँ, रात एउटा स्वासमा
अवस्थित हुन्छ
एउटा खुट्किलोमा
जससँग हामी आफैँ जोडिनलाई
कुनै वस्तु होइन, कुनै भाका होइन
रातका
लामा, छोटा र असहज पलहरूमा
अन्धकारमा पनि
वृक्षबिनाको कुनै क्षितिज देखिँदैन
पर कतै, पातहरूमा केवल एक डुङ्गाको धिपधिपे उज्यालो देखिन्छ
आकारविहीनता अगाडिको अन्तिम पाइला ।
अनुवादः महेश पौड्याल


















