कविता:

महेश पौड्याल
नानीहरू र पहेंलो घाम
पश्चिममा—
नुङ्काई पहाडबाट चिप्लिँनै लागेको पहेंलो घाम
ससाना औंलाले
थेगिरहेका छन्, नानीहरू ।
उनीहरूलाई थाह छ
डुबेपछि यो पहेंलो घाम
छाएपछि गाढा अँध्यारो
बारपीपल डाँडामा
समाप्त पनि हुनसक्छ उनीहरूको खेल ।
डुबेको घाम फर्काउन
धेरैपल्ट गएका हुन्, बाबा
नुङ्काईपारि
लेसिँदै गएको अँध्यारो पुछ्न
धेरैपल्ट बालेकी हुन् आमाले
सपुराका बातीहरू
तर बाबा सधैँ सधैँ
एक छाती बिरहमात्र लिएर फर्किए
र आमा सधैँ सधैँ
एक अँजुली अँध्यारो मात्र लिएर भित्रिइन् ।
नानीहरूलाई थाह छ
समुद्रमा टेकेर उभिनु
र औँलाले आगो थेग्नु कठिन छ—
तर खेल आजै खेल्नु छ बरपीपल डाँढामा
बितेपछि यो समय—
केवल एक काँचुली बनेर फर्कनेछ ।
हुन त भोलि पनि झुल्कने छ घाम
भोलि पनि छाउनेछ उज्यालो
तर भोलि, बरपीपल डाँडामा
खेलभित्र उनीहरू हुने छैनन्,
या, उनीहरूभित्र हुने छैन खेल
जति खेल बाँकी
आजै पर्ने छ खेल्नु ।
डुबेपछि यो पहेेंलो घाम
छाएपछि गाढा अँध्यारो
बरपीपल डाँडामा समय
एक अपरिचत बाज बनेर आउनेछ
र उडाइलानेछ उनीहरूलाई
विपनाको देश ।
पश्चिममा—
नुङ्काईबाट चिप्लिनै लागेको पहेंलो घाम
ससाना औँलाले
थेगिरहेछन् नानीहरू ।


















