नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


महेश पौड्याल

नानीहरू र पहेंलो घाम

पश्चिममा—
नुङ्काई पहाडबाट चिप्लिँनै लागेको पहेंलो घाम
ससाना औंलाले
थेगिरहेका छन्, नानीहरू ।
उनीहरूलाई थाह छ
डुबेपछि यो पहेंलो घाम
छाएपछि गाढा अँध्यारो
बारपीपल डाँडामा
समाप्त पनि हुनसक्छ उनीहरूको खेल ।

डुबेको घाम फर्काउन
धेरैपल्ट गएका हुन्, बाबा
नुङ्काईपारि
लेसिँदै गएको अँध्यारो पुछ्न
धेरैपल्ट बालेकी हुन् आमाले
सपुराका बातीहरू
तर बाबा सधैँ सधैँ
एक छाती बिरहमात्र लिएर फर्किए
र आमा सधैँ सधैँ
एक अँजुली अँध्यारो मात्र लिएर भित्रिइन् ।

नानीहरूलाई थाह छ
समुद्रमा टेकेर उभिनु
र औँलाले आगो थेग्नु कठिन छ—
तर खेल आजै खेल्नु छ बरपीपल डाँढामा
बितेपछि यो समय—
केवल एक काँचुली बनेर फर्कनेछ ।

हुन त भोलि पनि झुल्कने छ घाम
भोलि पनि छाउनेछ उज्यालो
तर भोलि, बरपीपल डाँडामा
खेलभित्र उनीहरू हुने छैनन्,
या, उनीहरूभित्र हुने छैन खेल
जति खेल बाँकी
आजै पर्ने छ खेल्नु ।
डुबेपछि यो पहेेंलो घाम
छाएपछि गाढा अँध्यारो
बरपीपल डाँडामा समय
एक अपरिचत बाज बनेर आउनेछ
र उडाइलानेछ उनीहरूलाई
विपनाको देश ।

पश्चिममा—
नुङ्काईबाट चिप्लिनै लागेको पहेंलो घाम
ससाना औँलाले
थेगिरहेछन् नानीहरू ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु