कविता:

महेश पौड्याल
माली
ऊ फूलहरूको हो
तर फूलहरू उसका होइनन् ।
यस्तै यस्तै हुँदै आएको छ संसारमा
आदिमताको सीमानादेखि ।
उसैले हो यस पहाडजस्तै पुरानो बगैँचामा
पसिना रोपेर
रङ्गहरू फुलाएको
फूलहरूमा अवतरित उसको समय
कहाँ कहाँ पुगेन, अन्तरालमा?
मौसुफको गला
विजेताको शिर
भगवानको मन्दिर
एकलासको चिता
प्रेमीको हात...
अनि ऊ
त्यही माटोमो गीत गाएर
रखवालीमा जुटेको छ बगैँचाको
युगौँदेखि ।
आज मालिक फर्किएको छ घर ।
बर्सौपछि, सहरबाट
मालिसकसँगै फर्र्किएको छ एउटा पुरानो तमसुक
पुस्तेनी ऋणको ।
अब बेचिनेछ उद्यान
काटिनेछ एउटा कुसुम सभ्यता
मेटिनेछन् गीत
मारिनेछन् कविताहरू
झर्ने छन् सुगन्धित सपनाहरू
र निमिट्यान्न हुनेछ
सौन्दर्यको एक विपूल चिनारी ।
मालिकको पुस्तैनी ऋणको मोचन हुनेछ आज
फूलहरूमा मुटु गाँसेर
मुस्कान फुलाइरहने मालीको
अब के हुन्छ?


















