नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


महेश पौड्याल

यशोधरा

यशोधरा !

कल्कलाउँदो बैंश
छातीभरि बोकेर
आँखामा सिसाका चोइटा बनेर अल्झिएका
आँसुका टुक्राबाट निशब्द मुस्कान भरिरहनु
कुनै निर्वाणभन्दा कम लाग्दैन मलाई ।

कोही भर्सेली लोटाउँछन् चुपचाप,
प्रेमीले छाडी गएका
साझा पापका अवशेषहरू सम्हाल्छन्
डोकाभरि सह ल्याउँछन् झिस्मिसेमै पँधेराबाट
पोल्टाभरि साँच्छन् भविष्य
अनि आफैंलाई पसिनामा अनुवाद गरेर
अरुको बूढेसकालमा खुसी भर्छन् ।
अनि पो सक्छ कोही
टाढा–टाढा दिगन्तसम्म उडेर
पर–पर अरण्यसम्म पुगरे
भित्र–भित्र सागरसम्म डुबेर
सञ्जीवनी खोज्न, जीवनको ।

भक्कानु फुटेर आउँदा पनि
मन थाम्न सक्नु,
आँसु रोक्न सक्नु
निर्वाण हो ।

यशोधरा !
तिमीले सहेको यथार्थ
अर्को त्रिपिटक हो ।

म तिम्रो मन्दिर बनाउँछु
अनमोल भएर पनि अदृश्य रहने
हृदयका पाटाहरूमा
श्रद्धाका इँटाहरूले ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु