कविता:

महेश पौड्याल
यशोधरा
यशोधरा !
कल्कलाउँदो बैंश
छातीभरि बोकेर
आँखामा सिसाका चोइटा बनेर अल्झिएका
आँसुका टुक्राबाट निशब्द मुस्कान भरिरहनु
कुनै निर्वाणभन्दा कम लाग्दैन मलाई ।
कोही भर्सेली लोटाउँछन् चुपचाप,
प्रेमीले छाडी गएका
साझा पापका अवशेषहरू सम्हाल्छन्
डोकाभरि सह ल्याउँछन् झिस्मिसेमै पँधेराबाट
पोल्टाभरि साँच्छन् भविष्य
अनि आफैंलाई पसिनामा अनुवाद गरेर
अरुको बूढेसकालमा खुसी भर्छन् ।
अनि पो सक्छ कोही
टाढा–टाढा दिगन्तसम्म उडेर
पर–पर अरण्यसम्म पुगरे
भित्र–भित्र सागरसम्म डुबेर
सञ्जीवनी खोज्न, जीवनको ।
भक्कानु फुटेर आउँदा पनि
मन थाम्न सक्नु,
आँसु रोक्न सक्नु
निर्वाण हो ।
यशोधरा !
तिमीले सहेको यथार्थ
अर्को त्रिपिटक हो ।
म तिम्रो मन्दिर बनाउँछु
अनमोल भएर पनि अदृश्य रहने
हृदयका पाटाहरूमा
श्रद्धाका इँटाहरूले ।


















