कविता:

केशव सिग्देल
खुशी
म आत्महत्या गर्न चाहान्थें
त्यसैले चुचुरोबाट हामफाल्ने उदेश्यले
माथि चढ्ने बाटो पहिल्याउन
ध्यानपूर्वक हिमाललाई हेरिरहेथें ।
उभिइरहेको मलाई हिमालले पनि देख्यो
तर मेरो उदेश्यका बारेमा अनभिज्ञ हिमालले
अप्रत्याशित रुपले बरु उल्टै मलाई भन्यो
म आफ्नै अग्लाइको शानबाट थाकिसकेको छु
कृपा गरेर ममाथि आरोहण गर
र यो शानको निस्सारताबाट मुक्त गर मलाई ।
हिमालको एक्लोपन र निर्वासनजस्तो अस्तित्व सम्झेर हच्किएँ
र त्यहाँबाट फर्किएँ ।
त्यसपछि म समुन्द्र भए नेर गएँ
म आफूलाई समुन्द्रको गहिराइमा समाहित गरिदिन
हामफाल्ने उचित स्थान खोजिरहेथें ।
उभिइरहेको मलाई समुन्द्रले पनि देख्यो
मेरो आशयका बारेमा बेखबर समुन्द्रले
उल्टै मसँग भन्यो -
म आफ्नै फैलावटको अनन्तताबाट थाकिसकेको छु
मभित्र डुबुल्की लगाऊ र यो अर्थहीन अनन्तताबाट मुक्त गर मलाई ।
समुन्द्रको अपरिमेय गहिराइ र विषादपूर्ण अस्तित्वबाट म झस्किएँ
र त्यहाँबाट फर्किए ।
म आँधी भएनेर गएँ
र आँधी-नृत्यको रौद्र लयमा होमिएर
आफूलाई विलय गराउन
उचित क्षणको प्रतिक्षा गरिरहें ।
उभिइरहेको मलाई आँधीले पनि देख्यो
मेरो आशयका बारेमा अनभिज्ञ आँधीले
उल्टै मसँग गुनासो गर्यो -
म आफ्नै गतिको उग्रताले गलिसकेको छु
मलाई आफ्नो काबुमा लेऊ र यो दुःखसागरबाट पार लगाऊ ।
आँधीको पूर्वानुमान गर्न नसकिने आवेग र सकसपूर्ण अस्तित्व सम्झेर म कायल भएँ
र त्यहाँबाट फर्किएँ ।
त्यसपछि म आगोनेर गएँ
चट्टानको नजिक गएँ
उजाडतासम्म पुगेँ
उनिहरुका आआफ्नै दुःख थिए ।
संसारसँग थाकेर जब
आफैंलाई हेर्न म एकछिन रोकिएँ
आत्मस्वरुप आफ्नै मन
मलाई देखेर बल्ल मुस्कुरायो ।


















