कविता:

भीष्म उप्रेती
पूर्णविराम
म उभिएको छु
हलचल नगरिकन
निष्प्राणजस्तै भएर
पूर्णविराम जस्तै भएर ।
पूर्णविराम भनेको
एउटा अवसर र विचारको अन्त्य पनि हो
पूर्णविराम भनेको
अर्को अवसर र विचारको प्रारम्भ पनि हो ।
कहाँ उभिएर कसरी सोच्ने हो
समाप्त हुनु
प्रारम्भको लागि तयार हुनु
यात्राको बीचैमा उभिनु
धेरैवटा अर्थहरू छन् उभिनुको ।
म उभिएको छु
हलचल नगरिकन
निष्प्राणजस्तै भएर
पूर्णविराम जस्तै भएर ।


















