नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

निबन्ध:


बलराम अधिकारी

सुपेरियोरिटी कम्प्लेक्सको टुप्पोबाट खसेको मेरो मित्र

यहाँ हामी दुई पात्र छौँ— ऊ र म । उसलाई मैले मित्र भनेको छु । ऊ मेरो आत्मीय मित्र हो— आत्मामा सँगै रहने । त्यसैले ऊ मेरै पाटो हो भन्दा पनि हुन्छ । मभित्रको अर्को पाटो जो सुरक्षाको खोजीमा असुरक्षित घुमिरहन्छ— यो सहरमा, यो सहरभित्रका सडक र गल्लीहरूमा, ती सडक र गल्लीहुँदै म छिर्ने क्याम्पसहरूमा, क्याम्पसभित्रका कक्षाकोठाहरूमा ।

घटना : परीक्षा (परइच्छा)

पास र फेलको ट्याग हान्ने क्रममा फेलको ट्यागले डामिएर मेरो मित्र घाइते भएको छ । घटना एउटै हो । म यसलाई केवल घटना भन्छु । जे हुनु थियो भयो भनी सम्झिन्छु, मित्रलाई सम्झाउँछु । तर मित्र यसलाई दुर्घटना भन्छ । नहुनु पर्ने भयो भनी मन दुखाउँछ । घाइते मन देखाउँदै हिँड्छ ।

त्यस दिन उसलाई देख्नासाथ मैले नमस्कार भनेँ, गरेँ । मित्रले नमस्कार मात्र भन्यो, गरेन । मैले हात तन्काएपछि उसले हत्तपत्त हातको झोला अर्कापट्टि झुन्डायो र दायाँ हात तेस्र्यायो । उसको नमस्कारको फिर्तीमा सदाको झैँ उच्च तान थिएन । सदा आरोहमा बोल्ले उसको स्वर आज भने अवरोहतिर झर्दै गरेको शास्त्रीय राग जस्तो थियो । हात मिलाइमा कामरेडी शैली र जोश थिएन । बोली शिथिल । हाउभाउ शिथिल । उसमा आएको परिवर्तनको मैले सहजै अनुमान लगाएँ । मलाई थाहा थियो अघिल्लो साता निस्किएको परीक्षाफल उसका लागि निस्फल भएको थियो । उसको नाममा फेलको ट्याग लागेको थियो । विद्यार्थीहरू उसलाई नमस्कार भन्दै, कोही नमस्कार गर्दै कक्षातिर जाँदै थिए । उसको आधा ध्यान मतिर थियो, आधा ती विद्यार्थीतिर ।

हेर्छु ऊ सकेसम्म नमस्कार–कर्ताबाट छलिने प्रयासमा छ ।

मैले उसलाई सहानुभुति देखाएँ— मित्रजी, कस्तो नराम्रो खबर ।

ऊ अघिदेखि मेरो यही वाक्यको पर्खाइमा थियो । मेरो बोलीले उसका आँखाको स्वीच थिचे झैँ लाग्यो ।

— खै के भन्नु । नसोचेको भयो ।

उसले थप सहानुभूति खोज्यो । मैले व्यवस्थालाई दोष दिएँ । उसले सहमतिमा टाउको हल्लायो । परीक्षा प्रणाली नै त्रुटिपूर्ण छ भनेँ । उसले गम्भीर भावमा दाहिले हातले दाह्री मुसार्‍यो । मानसिक रूपले गलेको मान्छे सहानुभूति खोज्छ । मनोविज्ञानले भनेको सम्झिएँ । खोजेको कुरा उसले थोरै भए पनि मबाट पायो । अब उसको शरीर अलि तन्कियो । भुईँमा राखेको झोला टपक्क टिप्यो र फनक्क घुमाएर पछाडि भिर्‍यो । उसको हाउभाउ र बोलीमा जीवन्तता आयो ।

तर ऊ थप व्यग्र देखियो ।

मित्रको चिन्ता— यार, कताकता पोलिरहन्छ । विद्यार्थीका अगाडि उभिँदा सबै आफैँलाई हेरेर खिसि गरे झैँ लाग्छ । सबै विद्यार्थीलाई था’छ आफू भर्खरै फेल भएको । फेलरले पास कसरी हुने भनी सिकाउनुपर्छ । झुट बोलेझैँ लाग्छ ।

मेरो मित्र सहानुभूतिको खोजीमा थियो । म भने दर्शन थप्ने मौकाको खोजीमा थिएँ । म पनि आफ्ना अनेकौँ असफलतालाई दर्शनको आधार दिन खोज्दै थिएँ । मैले दर्शन थपेँ— भनिदिनू नि आफ्ना विद्यार्थीलाई— सक्छौ, मेरो सफलताबाट सिक, सक्दैनौ, मेरो असफलताबाट । आखिरमा तिमीबाट विद्यार्थीले केही न केही त सिकिहाल्छन् । सुनाइदिनु नि आफ्ना असफलताका कथा । यसबाट कमसेकम उनीहरूको असफलताको भय कम हुन्छ । उनीहरूलाई थाहा हुन्छ, हामी शिक्षक कुनै विशेष प्राणी होइनौँ । हामी पनि विद्यार्थी नै हो । हामी पनि पासफेलको चक्रमा पस्छौँ, फस्छौँ । कहिले बाहिर निस्कन्छौँ । कहिले भित्रै निस्सासिन्छौँ ।

म मेरो मित्रको मानसिक बिमारीसँग राम्रैसँग परिचित छु । यसलाई मनोविश्लेषणले सुपेरियोरिटी कम्प्लेक्स भनेको छ । यही बिमारीले गर्दा ऊ विद्यार्थीका सामु विशेष प्राणीका रूपमा उभिन खोज्छ । विद्यार्थीभन्दा निकै पर रहस्यमा बस्न खोज्छ । ऊ आफूलाई ज्ञानको डाक्टर ठान्छ, विद्यार्थीलाई अज्ञानताको बिरामी । तिनै विद्यार्थीले यस्तो विशिष्ट शिक्षक पनि फेल भएको देखे, अनुहारमा उसको निरीहता पढे, बोलीमा उसको व्यग्रता सुने, अज्ञानता बुझे । आफ्नो अहङ्कारको खबटा फुटेर वास्तविक रूप बाहिर आएको चाल पाएपछि अहिले मेरो मित्र धरधमराएको छ ।

उसलाई यति मात्र भनेँ— आफूलाई यति कमजोर नठान्नू । यो फेल भन्ने कुरो अरुको मापदण्डमा आफू फिट नभएको मात्र हो । मुख्य कुरा त आफ्नो मापदण्ड आफैँले तोक्ने हो । त्यसैअनुसार चल्ने हो । अरूको मापदण्डमा जीवनलाई राख्ने हो भने त कति पटक फेल भइन्छ, भइन्छ ।

तर उसको व्यग्रता घटेन । उसको विफलताको घाउमा मेरो तर्कको एनेस्थेसियाले कुनै काम गरेन ।

मैले विस्मयवोधक प्रश्न गरेँ— दुई–चार जनाको सानो समूहले फेल भन्दैमा त्यस्तो उत्पात चिन्ता किन ? तिमी उनीहरूले बनाएको सूचीमा अनुपस्थित भयौ । कुरो यत्ति न हो । सानो समूह ? (पछि उसले सङ्केत गर्‍यो— तीन जनाको समूह रे । तीन ठूला दलबाट प्रतिनिधित्व हुने भएकाले एउटाको सूचीमा परेको तर दुइटाकोमा नपरेको । अल्पमतका कारण ऊ अन्यायमा परेको ।)

उसले बुझ्ला भन्ने ठानेर अनुपस्थितिको सिद्धान्तको सङ्केत गरेँ— धेरै होला, तिमी अब यो जागिरमा अनुपस्थित हौला । हुन सक्छ, तिम्रो उपस्थिति अन्त कतै निर्धारण भएको छ । एक ठाउँमा अनुपस्थित हुनु भनेको अनेकौँ ठाउँमा उपस्थित हुनु हो । मैले उसको मनमा अमेरिकाको नक्सा उतार्न खोजेँ । बेलायतको आकार बनाउने प्रयास गरेँ । तर त्यहाँका कुनै पनि विश्वविद्यालयको नक्सा उसको मनमा उत्रिएन । उसको अनुहार भिजेको झुम्राको डल्लोजस्तो थियो । त्यसबाट उसको हीनताभाव चुहिरहेको थियो ।

असफल भइस् भनेर अरूले घोषणा गर्नुभन्दा पहिले, भनौँ न परीक्षाको नतिजा आउनुभन्दा पहिले, त्यति दह्रो मेरो मित्र कसरी यति साह्रो गल्यो । म यही उदेक बोकेर आफूले पढाउनुपर्ने क्याम्पसतिर लागेँ । त्यहाँ गएर मैले पनि विद्यार्थीलाई कसैले तोकेको मापदण्डमा आफूलाई कसरी पास गराउने भन्ने जुक्ति सिकाउनु छ । उही मित्रलाई सम्झी हिँडेँ बस चढ्ने ठाउँसम्म । देख्छु ऊ सुपेरियोरिटी कम्प्लेक्सको टुप्पोबाट खसेर इन्फेरियोरिटी कम्प्लेक्सको फेदमा सत्रङ्ग पल्टिरहेको छ । मनोविश्लेषणमा यसको कारण खोज्छु । त्यसले भन्छ— सुपेरियोरिटी कम्प्लेक्स भएको व्यक्तिलाई मात्र हीनताभावले समाउँछ । हिजोसम्म मैँ हुँ त्यो सर्वज्ञाता भनी हिँड्ने मित्रलाई एउटा समूहले निष्कर्ष निकालिदियो— लौ हेर् आफ्नो हैसियत । अरूले निकालेको निष्कर्षले ऊ एकाएक विपरीत ध्रुवमा फ्याँकियो । अब सुपेरियोरिटीको बिमारीको सट्टा उसलाई इन्फेरियोरिटीको बिमारीले समात्यो । हनहनी ज्वोरोको विरामीलाई बरफले सेक्दा तापक्रम घटेर निमोनियाले समाएझैँ भयो ।

म उही मित्रसँग काल्पनिक वात मार्दै जान्छु ।

हे मित्र, म छु यता । न त म सफलतामा उफ्रिएर कराउन सक्छु । न त विफल हुँदा एकान्तमा चिन्तित नै हुन सक्छु । यी दुबै मेरा लागि केबल उत्तेजना बनेर आउँछन् । दुबैले मुटुको धड्कन बढाउँछन् । शरीर तातेर आउँछ । वर्तमानको टेको फुत्किन्छ । अरूले तँ पास भइस् भनेको रात, अरूले तँ फेल भइस् भनेको रात म झन्डै अनिँदो रहन्छु । दुवै उत्तेजनामा मनको सन्तुलन धर्मराउँछ । अनि हेर्छु मात्र आफैँलाई । मेरो उत्तेजना कसरी बढ्छ । कसरी सास फुलेर आउँछ, कसरी मुटुको धड्कन कानको चेपचेपमा सुनिन्छ । अनि सबै सेलाएर जान्छ । न पास छ , न फेल छ । छ त केवल केही आवेग, केही उत्तेजना छ । केवल त्यही आवेग र उत्तेजनाको अनुभव छ । त्यही अनुभवबाट सिक्ने हो । रमाइलो माने पनि नरमाइलो माने पनि आखिर त्यही उत्तेजना न हो ।

उसले सोधेको भए म यसो भन्दो हुँ— कसैले तँ पास भनिदिएपछि सबै काम तमाम भएझैँ लाग्छ । अब सिक्नुपर्ने नै के रह्यो भन्ने मुख्र्याइँ बढेर आउँछ । बाहिरतिर ज्यादा हेरिन्छ । तर असफलताको झट्काले व्यक्तिलाई तत्काल भीडबाट बाहिर फ्याँकिदिन्छ । व्यवस्थाले उसलाई पर धकेलिदिन्छ । ऊ एक्लो उभिन्छ । अब उसले आफैँभित्र हेर्नुपर्ने हुन्छ । उसलाई सङ्कटको अनुभव हुन्छ । ऊ असुरक्षित हुन्छ । उसको अस्तित्व धर्मराउँछ । आफूलाई टिकाउन उसले आफैँभित्र ऊर्जाको खोजी गर्नुपर्छ । सङकटमा पनि आफूभित्र यात्रा गर्ने चेत नभएकाहरू सबैतिर अन्धकार देख्छन् । बाहिरको उज्यालोले साथ नदिए भित्रको उज्यालोको सहारा लिनु मित्र । बाहिरको दुनियाँसँग सम्बन्ध टुटेका बखत भित्रको ऊर्जासँग जोडिन सकिएन भने जीवन व्यर्थझैँ लाग्छ ।

म मेरो मित्रलाई सम्झेर आफैँलाई सम्झाउँछु— हे मित्र, अब पनि आफूलाई आफैँतिर फर्काउन सकेनौ भने परीक्षामा होइन जीवनमा नै फेल हुने छौ । परीक्षामा हार मान्ने तिमी कुनै दिन जीवनबाटै हार मान्ने छौ । त्यसपछिको कल्पना म गर्दिनँ । तिमी जीवनबाट हार मानेर त्यता गएको खबर मलाई सुन्नु छैन । जुन कुरा मलाई सुन्नु छैन, त्यसको बारेमा सोच्नु पनि छैन ।

कीर्तिपुरको ओरालोबाट माइक्रोबस कालीमाटीतिर हुँइकिन्छ । अब भने मित्रको आकार, हाउभाउ र बोली धमिलिन थाल्छ । मित्रको ठाउँमा म आफैँभित्रको जागिरे आकृति र परीक्षा दिँदाको थकित मानसिकताले ठोस आकृति लिन थाल्छ । त्यस आकृतिले भन्छ— तँ आफै तेरो त्यो मित्र होस् । तँ उसलाई भन्न सक्दैनस् कसैको परीक्षाबाट बाहिरिनु भनेको नन–कन्फर्मिस्ट हुनु हो । कन्फर्मिस्टहरू अरूको मापदण्डमा नपरेकोमा चिन्तित हुन्छन् । तँमा पनि त्यही चिन्ता छ । उनीहरू व्यवस्थाभित्र भित्रिने बाटोको खोजीमा हुन्छन्, पर्खाइमा रहन्छन् । तँैलै पनि त्यसैलाई कुरिस्, अनि भित्र पसिस् । कन्फर्मिस्टहरू व्यवस्थाबाट बाहिरिनु पर्दा दुखी हुन्छन् । दुखमा नै रहन्छन् । बाहिरिँदा पनि खुसी हुनेहरू भने निकै कम हुन्छन् । स्वेच्छाले बाहिर बस्न चाहनेहरू ननकन्फर्मिस्ट हुन् । ननकन्फर्मिस्टहरू अल्पजनमा पर्दछन् । यिनीहरूलाई बहुजनका मापदण्डले विचलित मानसिकताको ट्याग दिन्छ । तर यस्तै विचलनमा चल्नेहरूले समाजमा वैकल्पिक चलनको थालनी गर्छन् । अन्ततः बहुजन यिनै अल्पजनका चेनताले चल्छन् । यस्ताहरू सहजै असहज जीवन बाँच्छन् ।

तर म यी अल्पजनको प्रशंसक मात्र हुँ अनुयायी होइन । रम्छु मात्र— म यिनीहरूलाई हेरेर, पढेर, यिनका बारेमा सुनेर । म यिनका साथमा हिँड्न सक्दिनँ । म छु अर्धकन्फर्मिस्ट । बाहिरिने र छाड्ने क्रममा रमिरहन्छु । बाँच्ने चाँजोपाँजो मिलुन्जेल म पुरै ननकन्फर्मिस्ट हुन्छु । यता कीर्तिपुरमा कोठाको भाडा तिर्ने दिन नजिकिँदै आउँदा, भान्साको सरसामान घट्दैँ जाँदा, बजारभाउ बढ्दै जाँदा, चाहेको किताब किन्नलाई पैसा नहुँदा, हतार र आपतमा पनि ट्याक्सी चढ्ने आँट नआउँदा भने कन्फर्मिस्ट हुन्छु । कुनै भरपर्दो व्यवस्थाभित्र छिर्छु । त्यहाँका ऐन नियम मेरा लागि सर्वस्वीकार्य हुन्छ । कुनै प्रश्न उठाउँदिन । तर्क गर्दिनँ । विवेकको कम प्रयोग गर्छु । प्रश्न उठाउनु, तर्क गर्नु, विवेकको प्रयोग गर्नु भनेको जोखिमको जीवन बाँँच्नु हो । व्यवस्थाभित्र रहनेले, व्यवस्थाले दिएको ट्याग भिर्नेले, त्यही ट्याग धारण गरेर जीवन चलाउनेले यस्तो जोखिम लिने आँट गर्दैनन् । म पनि क्याम्पसको गेट छिरेपछि आफ्नो ट्यागको वचाउका लागि यस्तो कुनै जोखिम लिदिनँ । तर साँझमा क्याम्पसको गेटबाट बाहिरिनासाथ मलाई जुँगे नित्सेको भुत चढ्छ । अनि म उसैलाई सम्झेर मनमनै आफूलाई विद्रोही पात्रका रूपमा प्रस्तुत गर्छु— जोखिमविनाको जीवन मलाई घृणा लाग्छ । तर यो विद्रोह धेरैवेर टिक्दैन किनभने मसँग भोक छ । मेरो भोकसँग मेरा आफ्नाजनको भोक पनि जोडिएको छ । केही लोभ पनि । भोक शमनका लागि, लोभ पुरा गर्नका लागि म मापदण्डमा बाँधिन्छु । पास र फेलको ट्यागलाई स्वीकार्छु । भिर्छु । तर म केबल पेट होइन । म मस्तिष्क पनि हुँ । चेतना पनि हुँ— कुनै पनि स्थापित मापदण्डको आयामभन्दा निकै माथि र निकै परसम्म फैलिएको । म हृदय पनि हुँ । कुनै पनि मापदण्डको तटबन्धनले छेक्न नसक्ने, म प्रेम हुँ ।

नित्सेको विचार टाउकोमा खेलाउँदै, खलिल जिब्रानको प्रेम हृदयमा राखेर म अर्धकन्फर्मिस्ट विद्यार्थीका अगाडि उभिन्छु । पढाउनुपर्ने विषय नै त्यस्तो छ । केही कुरा नित्सेको दस स्पेक जराथ्रुस्ट्रको, ओशोको नवमानव चेतनाको, कृष्णमूर्तिको शिक्षाको औचित्यको, जिब्रानको प्रोफेटको, दलाइ लामाको आध्यात्मको । विद्यार्थीहरूलाई ननकन्फर्मिस्ट बन भन्छु तर आफू भने व्यवस्थाले बनाइदिएको स्थिर रुटिनमा चल्छु । परीक्षाको तयारी कसरी गर्ने उपाय सुझाउँछु । पास फेलको सञ्जालबाट यो जुनी कसरी पार लगाउने अनेकौँ सूत्र बताउँछु । आफ्नै अनुभव सुनाउँछु । डेलको कालो झोलाभरि किताव बोकेर साँझमा कीर्तिपुर कोठा फर्किन्छु । अनि सोच्छु— मानसिक सुरक्षाको खोजीमा असुरक्षित भौतारिँदै हिँड्ने त्यो मित्र मै हुँ ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु