नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


अशेष मल्ल

विपरीत गोलार्द्धमा

लु भयो
म अब तपाइँसँग कुनै प्रश्न गर्ने छैन
आँखा चिम्लनेछु

यावत अनुत्तरित प्रश्न
अँध्यारोमा
अँध्यारोसँगै
जलाइदिनेछु
र म
मौन उभिनेछु
आफ्नै सपनाको वृत्तमा
कोही हुने छैनन्
मेरा वरिपरी
तपाइँ भरि
केवल लमतन्न सडक
लौ अब कुदाउनुस्
कालो घोडा निस्फिक्री
अबोध छातीहरूमा
म केही बोल्ने छैन
मात्र चिम्लनेछु आँखा
र हराउनेछु आफैबाट टाढा
म अब कुनै प्रतिवाद गर्नेछैन
कोर्नुस बतासका छातिभरि
काला अक्षरहरू
सारा आकाश तपाइँकै हुनेछ
उड्नुस् बाइपंखी घोडामा
या नाच्नुस्
आफ्नै पागल सपनाहरूको वृत्तमा
म व्युँझँदा पो दुख्छ

तपाइँको छाती र
चिथोरिन्छन् तपाइँका सपनाहरू

लौ भयो,
म निदाइदिनेछु
ढुक्कले कुदाउनुस् अब
तपाइँका घोडाहरू
चाहे जति बादलका धर्तिहरूमा ।
म मात्र किन उभिरहूँ
तपाइँको विपक्षी गोलाद्र्धमा
किन कालो प्ले कार्ड लिएर
उभिरहूँ जीवनभर
समयको किनारमा
तपाइँले टेक्दा
दुख्दैन अरूका छाति भने
म मात्रै किन
दुख्नुको पीडामा उभिइ रहूँ
भयो, अब म मौन पल्टिनेछु
तपाइँका सपनाका घोषणा पत्रहरूमा
कुदाउनुस् रथहरू कति कुदाउनु हुन्छ
मेरा अबोध छातिमा
यति भए शायद तपाइँको
त्रिलोकीय सम्राट बन्ने सपना
शायद पुरा होला
र हिरन्यकशिपु सपना
अझ लम्बिने होला
केही समय
यहीँ यो अभागी धर्तिको
एउटा कुनामा !!






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु