नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


अनामिका (भारत)

कुठाउँ

"आफ्ना ठाउँबाट निस्केपछि
कतैका रहँदैनन्
केश, आइमाई र नङहरू"-
व्याख्या गर्नुहुन्थ्यो कुनै श्लोकको यसरी
हामीलाई संस्कृत पढाउने गुरु ।

ठाउँ? ठाउँ भनेको के हो?
त्यसरी बुझेका थियौँ हामीले
एक कक्षामा पढ्दैखेरी ।

याद थियो हामीलाई एकएक क्षण
आरम्भिक पाठहरूको -
राम, पाठशाला जा !
राधा, खाना पका !
राम, आइज मिठाई खा !
राधा, घर बढार् !
भाइको सुत्ने बेला भयो
गएर ओच्छ्यान लगा !
आहा! नयाँ घर!
राम, हेर यो तेरो कोठा हो!
'अनि मेरो?'
'ए, लाटी,
छोरी त हावा, घाम, माटो हो
उसको कुनै घर हुँदैन'।"

जसको कुनै घर नै हुँदैन-
कसरी उसको कुनै ठाउँ होस्?

कुन ठाउँ हुन्छ यस्तो
जो छोडिएपछि आइमाइ बन्ने गर्छ ।
काटिएका नङहरू, र
काइँयोमा झल्झिएर उखेलिएका केशजसरी
बढारेर मिल्काइदिने खाले?

घर छुट्यो, आँगन छोडियो, छोडिए मान्छे र बगैँचाहरू
केही प्रश्नहरूले पछ्याउँदै थिए, ती पनि छोडिए!
छुट्दै गए ठाउँहरू
तर नेलकटर वा काँइयोमा अल्झिरहेको जस्तो त
कहिल्यै लाग्दै लागेन!

परम्पराबाट छोडिएपछि केवल यस्तो लाग्छ-
कुनै ठूलो क्लासिक रचनाबाट झिकेर
बी.ए. पासकोर्सको प्रश्नपत्रमा छर्किएको
एउटा सानो पङ्ति हुँ -
चाहन्नँ तर
कोही गर्न थालोस्
मेरो सप्रसङ्ग व्याख्या ।

सारा सन्दर्भहरूलाई पार गरेर
मुस्किलले उडेर पुगेकी छु
त्यसरी नै बुझिऊँ, त्यसरी नै पढिऊँ
जसरी पढिन्छ तुकारामको कुनै
अधूरो अभङ्ग!

(मूल हिन्दीबाट सुमन पोखरेलद्वारा अनूदित)







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु