विश्वसाहित्य:

आघा शहीद अलि (बङ्लादेश)
ढाकाको रेशम
...वर्षभरि उनी ढाकामा सबैभन्दा महँगो रेशमको कपडाको खोजी गरि नै रहे ।
—ओस्कर वाइल्ड (डोरियन ग्रेको चित्र)
तानमा बुनिएको हावा
बग्दो पानी वा साँझको शीत भनिने
ती पारदर्शी ढाकाली रेशमी लुगा
अहिले मृत कला बनेका छन्,
सय वर्षभन्दा बढी भो,
ती मृत भएको ।
हजुरआमा भन्छिन्, “कसैलाई थाह छैन,
त्यस्ता लुगा लगाउनुको अर्थ
त्यसको स्पर्शमात्रैको पनि अर्थ ।”
उनले पनि घरेलु तानमा बुनिएको
रेशमको साडी लगाएकी हुन् एकपटक
आमाबाट दाइजोमा पाएको !
सक्कली रेशम, तन्काउँदा छः गज लामो
अनेक पत्रमा पट्याए पनि,
एउटा सूक्ष्म रिङमा अटाएको ।
वर्षौपछि जब त्यो च्यातियो
सुनौलो धागोका बुट्टा मोहोरेका
अनेकौँ रुमालहरू त्यसैबाट काटिन् उनले
र बाँडिन् भतिजी र बुहारीहरूलाई ।
अब त, ती पनि हराए ।
इतिहासमा हामीले पढेका छौँः
कपडा बुन्नेका हातहरू काटिए
बङ्गालका तानहरू मारिए
र अङ्ग्रेजहरूले काँचो कपास
सीधै बेलायत पुर्याए ।
उनलाई काम नलाग्ने इतिहास हो यो
तर पनि हजुरआमा सुनाउँछिन् —
अचेलको रेशम कति खस्रो छ !
पहिलेको जस्तो नरम रेशम छुनलाई
शरदको मिर्मिरेमा उठ्नुपर्छ
र प्रार्थना गर्नुपर्छ ।
एकदिन बिहानै उनले भनिन्—
आज बतासमा शीत मिसिएको छ,
र अनायास,
रिङबाट साडी निकालेर तन्काउन थालिन् ।
अनुवादः महेश पौड्याल


















