कविता:

सुमन पोख्रेल
निर्णय गर्नुअघि
बहुलाऊँ म कसकसको मस्तिष्कमा ?
सोधूँ कसलाई ?
एकोहोरो उफ्रिरहूँ धारो झरेको ठाउँबाट पानीका कण उफ्रिएझैँ
कि
बिलकुल स्थिर रहूँ त्यही धारामुनिको ढुङ्गाजस्तो ?
जो निरन्तरै भए पनि तरल चुटाइले झक्झक्याउँदा
रत्तीभर चट्पटाउँदैन ।
कुन आँखालाई हेरूँ,
नितान्त तर्कहीन उत्तर पाउनका लागि ?
वा
कसैलाई नसोधिनुपर्ने प्रश्न सबैलाई सोधिरहूँ
कि नसोधिएको प्रश्नको जवाफ दिइरहूँ आकाशतिर फर्किएर ?
बाँच्नको लागि लगातार बहुलाइरहनुपर्ने यस परिवेशमा
कुन साइत रोजूँ बहुलाउन ?
मैले सोधिनँ कुनै लप्सीको गेडाजस्तो गुदीविहीन टाउकालाई
साइत देखाइनँ मैले कुनै टाँकीको चिउलाजस्तो विवेकलाई।
¨ ¨ ¨ ¨
सधैझैँ उत्सव गरिरहेथ्यो शीतको थोपाले रक्सीको स्वादमा
रातभरि फूलसँग मातेर,
बिहानी घामको किरणले पनि
अनुष्ठान गरिरहेथ्यो नदीमाथि नाङ्गै नुहाएर ।
अलिबेरमा सकियो,
त्यो उत्ताउलोपन भुवाजस्तो सेतो बादलमा परिणत भएरै छाड्यो ।
मैले कसैसँग नसोधिकनै आफूलाई बौलाइदिएँ
त्यही घाम र त्यही बादलमुनि बसेर ।
मलाई विश्वास भइरहेथ्यो
एक दिन सबै बहुलाउने छन
मलाई सद्दे देख्नका लागि ।


















