कविता:

सुमन पोख्रेल
हाटमा उभिएर
यसकै दृष्यमा बिलाएर
यसकै आवाजमा पुरिएर
पढिरहेछु यो हाटलाई म
अथवा,
सुनिरहेकोछु ।
-यो भालेको कति ?
-म त जान्न ।
-जेसुकै होस् ।
-पल्लोपट्टि हेर न !
-हिजो बिहान ।
-कस्तो मोटाएको ?
-सुत्नै सकिएन ।
बर्सादले कुटेको खोलाको झैँ आवाजमा दौडिरहेको यो हाट
हरेक बोलीमा एक कुची चित्र कोर्दछ ।
तर बुझ्दैन आफ्नै अनुहार यो गन्जागोल
चिन्दैन आफ्नै तसवीर यो व्यस्तता
बोलिरहन्छ केवल
आफैँलाई सम्बोधन गरेर -
-अलि पर्तिर सर न ।
-खोलापारि ।
-तीन सय बीस ।
-केही टुङ्गो छैन ।
-पोहोर कै ठाउँमा ।
-भोलिदेखि ।
-कोसँग ?
-कहाँ सुत्यौ ?
-आफ्नै बारीको हो ।
यी शब्दहरू टिपेर कविताको एक झोला बीउ बटुल्न सकिएला ।
यहाँका हरेक वाक्यमाथि टेकेर
जीवन एक खुड्किलो मास्तिर चढिरहेको होला
तर
दु:ख बेच्ने र सपना किन्ने होडमा तल्लिन शब्दहरू,
आफ्नै अनुहारमा फेरिइरहेका रङ्गको पनि वास्ता गर्दैनन् ।
केवल बोलिरहन्छन्
आफैँले कहिल्यै नसोचेका सम्बादहरू ।
-एकछिन यहीँ बसौँ ।
-क्या मान्छे होला ।
-एकपल्ट हेर्नुपर्छ ।
-कहाँको हो ?
-त्यसरी काँ हुन्छ ?
-तातो पानी ?
-कस्ती थिई ?
-सबैतिर हैन ।
-कति बेला जाने ?
-मुढामा ।
आआफ्नो चासोमा निमग्न श्वरहरू
आआफ्ना सङ्गीतको सिर्जना गर्दछन् र
जीवनका एकएक लय लिएर फिर्दछन् ।
-आज केही पनि छैन ।
-त्यति त नपर्नु पर्ने !
-साह्रै गलियो ।
-अस्ति पनि त्यस्तै थियो ।
-चिया नखाऊँ ।
-पल्ला घरमा ।
के यो हाटलाई उबाटै झिकिएको
कुनै कविता बुझ्ने गरी सुनाउन सकिएला?
उसकै सपनाको आकाशभरि कुँदिएका चित्र बुझाउन सकिएला ?
उसकै क्रन्दन र हाँसो मिसाएर बुनिएको सङ्गीतमा मग्न बनाउन सकिएला ?
एकएक मान्छे झिकेर सुन्दा जीवन बोलिरहेको यो हाट
मान्छे जोडिएर विकराल अस्पस्टता भट्याइरहेको छ।
कञ्चन जीवनहरूको नदी भीडबाट निलिएको छ
मान्छे मान्छेभित्रै विलाएको छ।
भीड बनेपछि मान्छे
मान्छे नरहने रहेछ ।
के जनता भनेको पनि हाट नै हो ?
जो एक्लैमा मान्छे र
समूहमा भयानक क्लिष्टता भएर बाँच्दछ ?


















