विश्वसाहित्य:

रती सक्सेना (भारत)
ज्यामिती
आफैलाई एउटा वृत्तमा फैलाएर
म अक्षबाट पर जान्छु, धेरै पर।
हरेक क्षण अस्तित्वहीनताबाट
सम्पूर्णतातिर खुल्दै जान्छु।
३६० डिग्रीको शून्यताभित्र
एउटा नाभिविन्दुको खोजीमा
चक्रहरु घुमाइरहन्छु
समय रथको।
अरु कसैसँग नभएर आफैसँग
सम्वादको प्रयास गरिरहेछु।
आफैंलाई १८० डिग्रीमा बीचबाट विभाजित गरेर
अग्लो रहिरहन
सजिलो छैन।
म कहाँबाट उठ्न शुरु गरौं
ताकि पछाडि छाडिएको लम्बाई
जीवनबाट प्रभावित नहोस्।
आफ्ना कुर्कुच्चालाई जमिनमै राख्ने प्रयास गर्दै
आकाश पनि छुन खोज्दा
मैले छ फिट जमिन गुमाउँदो रहेछु।
अनुवादः केशव सिग्देल


















