कविता:

राजेश्वर कार्की
कालीपारे दाइ कति राम्रो !
“कालीपारे दाइ कति राम्रो !
ढाका टोपी काँधैमा गलबन्दी !!
तारादेवीको स्वरलहरीमा यी शब्दहरु जब पहाडमा ठोक्किएर
गाउँघरको आँगनसम्म आइपुग्थे
मेरो कल्पनामा सवार कालीपारे
ढाका टोपी र काँधैमा गलबन्दी ढल्काएर
आफ्नो नायकत्वमा गर्वबोध गर्दै
हाम्रै घरभित्र प्रवेश गरेजस्तो लाग्थ्यो उःबेला !
जब गीतमा नभएर साच्चै नै कालीपारे
ढाका टोपी र काँधमा गलबन्दी ढल्काएर
अझ फिलिप्स रेडियोको रौनक घन्काउँदै
रुखपात पनि नाच्ने गरी हाम्रै आँगनबाट हिँड्थे उःबेला !
के विदि राम्रो लाग्थ्यो कालीपारे दाइ
साक्षत् भगवानको अवतार जस्तो उःबेला !!
कालीपारे दाइ कति राम्रो !
ढाका टोपी काँधैमा गलबन्दी !!
उःबेला—
रमित बसेका गाउँलेहरु
आँगनका डिलडिलबाटै कालीपारेलाई सलामी चढाइरहेझैँ लाग्थे
बर्षौँपछिको भेटलाई प्रियतमाको अनुहार
आफ्नो शृङ्गारले प्रियलाई स्वागत गरिरहेझैँ लाग्थे
कालीपारे र उनकी प्रियतमाको जोडी
एकादेशका राजकुमार राजकुमारीझैँ लाग्थे
मानौँ, सर्वश्रेष्ठ कोरियाग्राफीको आकर्षक नाटक हेरिरहेथ्यौँ नाटकघरमा
कालीपारे दाइ कति राम्रो !
ढाका टोपी काँधैमा गलबन्दी !!
बीस वर्षपछि
कालिपारेकै आँगनका डिलडिलमा रमिता बसेझैँ
हामी सबै गाउँलेहरु एउटा विशेष दुःखान्त नाटक हेरिरहेछौँ
नायिका जिउँदो लासजस्तो यसै ढोकैनिर लडेकी छन्
नायकको लास मोबाइलको स्क्रिनमा लम्पसार छन्
त्यो पनि ट्यागमा नाम झुन्ड्याइएको कुनै वस्तुजस्तो
गाउँलेहरुले सदाका लागि स्क्रिनमै विदा गर्छन् कालीपारेलाई
अब कालीपारे मोबाइलको स्क्रिनबाट कहिल्यै आँगनमा ओर्लनेछैनन्
अब कालीपारेको फिलिप्स रेडियो पनि कहिल्यै गाउँमा घन्कनेछैन......!
नाटकको पर्दा झरिसकेपछि
सुनसान बन्दै गएको त्यो झमक्क साँझ...
नेपथ्यमा मोबाइलको रिङटोन मधूरो बज्दै थियो
कालीपारे दाइ कति राम्रो !
ढाका टोपी काँधैमा गलबन्दी !!
आज फेरि
मैले बाँचेको जिन्दगीभन्दा सुदूर पारिको
कालीपारे विम्बको ऐँठनमा परेछु म
बिउँझदा देशजस्तो सिरानी
मेरो पसिनाले लफ्रक्कै भिजेको रहेछ !


















