कविता:

निरजसिंह ठकुरी
डुब्दै गरेको जहाज
अथाह सागरको बीचमा
म देखिरहेको छु
एउटा डुब्दै गरेको जहाजलाई ।
म पनि यसैमा सवार छु
एउटा कुनामा
गुमनाम बसिरहेको छु
चुपचाप हेरिरहेको छु
मलाई कविता पढ्न निषेध गरिएको छ
मलाई बोल्न प्रतिबन्ध लगाइएको छ
मलाई हिँड्न चार किल्ला तोकिएको छ
जहाजको एउटा ठूलो कोठामा
शक्ति आर्जन गरेकाहरू बसेका छन्
उनीहरू चाटुकारहरूबाट घेरिएका छन्
पहुँचवालाहरू पनि बसेका छन्
उनीहरू मेरो कुरा लाउँदै छन्
मेरो खेदो खन्दै छन्
मलाई सिध्याउनुपर्छ भन्दै छन्
त्यहाँ भएका ठूलाबडाहरूबाट
उनीहरू आशीर्वाद थाप्दै छन्
र तक्मा पनि बटुल्दै छन् ।
जहाजको अर्को सानो कोठामा
शक्ति गुमाएकाहरू बसेका छन्
उनीहरू गुमेको शक्ति कसरी फर्काउने
दाउपेच खेल्दै छन्
जहाजमा थरीथरीका यात्रुहरू चढेका छन्
कोही जहाजलाई टुक्र्याएर
बाँड्ने कुरा गर्दै छन्
कोही विद्रोहको धम्की दिँदै छन्
कोही हतियारमा साँध लाउँदै छन्
कोही पर्चा र नाराहरू बाँड्दै छन्
कोही जुलूस निकाल्ने तयारीमा छन्
कोही भाषण गर्दै छन्
कस्ता यात्रीहरू !
यस्तो गरिरहँदा जहाज डुब्छ भन्ने कुरा
उनीहरूले पटक्कै बुझेका छैनन्
अथवा बुझेर पनि बुझ पचाइरहेका छन्
जहाजको पारिपट्टि
थुप्रै गोहीहरू यो तमाशा हेरेर बसेका छन्
र मुख मिठ्याइरहेका छन् ।
जताबाट हेरे पनि
यो जहाज र मेरो देश
ठ्याक्कै उस्तै देखिन्छ ।


















