नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


मोमिला

उकालोमा म र तस्बिर

आजसम्म मेरो पसिना ओरालो बगिरहेकै छ
म भने—
थोत्रो मेसिनको एकनास पट्यारलाग्दो आवाजजस्तो
खट्....खट् खट्....खट् खट्....खट्
एकोहोरो जिन्दगीको उकालो चढिरहकै छु

अब चढ्न बाँकी उकालो कति नै छ र भन्दै
आप्mनै सुस्केराको डोरीजस्तो धूवाँमा झुन्डिएरै
खट्....खट् खट्....खट् खट्....खट्
हो, म जिन्दगीको उकालो चढि नै रहेछु

जिन्दगीको उकालो चढ्दाचढ्दै म पचहत्तर टेकिसकेँ
सारा सपनाहरू जवानीसँगै छुटिसके
तर, जिन्दगीको भारी आजसम्म छुटेको छैन
सायद यो जिन्दगी र मेरो दुखको भारी एकसाथ सकिनेछन्

कहिले त यो उकालो पटक्कै नसकिँदा
उकालो नै उल्ट्याएर फेरि फेदीबाट हिँडूँ लाग्छ
तर, यस्तो झेली खेल कत्ति पनि मन पर्दैन !

हो, म दुःखी छु / गरिब छु
मेरै पसिनाको हिस्सा यी मठमन्दिरहरु हेर्न आएको
तिम्रो हृदयको सम्मान गर्छु
यसैले हृदय फराकिलो पारेर
मेरो शिरजस्तो यी मन्दिरका गजुरहरु जति खिच्छौ खिच
तर, तिम्रै भारीले थिचिएर शिर निहुरिएको
मेरो तस्बिर कसै गरे पनि नखिच !

फेरि म, मेरो च्यातिएको चोली अझ च्यातेर
तिम्रो लेन्स छोप्न त सक्तिनँ !
तर, बिन्ती ! मेरो तस्बिर नखिच !
किनकि तिम्रो तस्बिरमा मसँगै मेरा दुःखहरु
रक्तवीजसरी कोठा–चोटा, टेबुल–भित्ता जताततै मौलाउनेछन्...

सक्छौ भने
म र मेरो जिन्दगीको उकालोभन्दा माथि
मैले नै दिएको प्रेमको चिनो
मेरो मुस्कान मुस्कुराइरहेको त्यो हिमालको तस्बिर खिच
तर बिन्ती ! शिर निहुरिएका मेरो तस्बिर नखिच !
मलाई थाहा छ—
म मरेपछि पनि तिम्रा तस्बिरमा मेरा दुःखहरू
सभ्यताकै मनोरञ्जन बनेर बाँच्नेछन्

म चाहन्छु—
मसँगै मेरा दुःखहरू पनि सधैँका लागि मरून् !







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु