नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


मोमिला

न उकालो न ओरालो बग्छ, तिम्रो आँसु...

धरतीको यौवन मस्त फक्रिएर
फूलहरूले माथिमाथि आकाश चुमेजस्तो
धपक्कै बलेर प्रभातमा सूर्य
स्वप्नपरी भेट्न उचाइतिर बेग मारिरहेजस्तो
प्रेम पग्लिएर आँखाबाट
किन माथि उकालो बग्दैन आँसु !

अस्वत्थामाको मणिजस्तो
तिम्रो निधारमा सज्जित शक्तिशाली तेस्रो आँखा
किन त्यस्तरी सुक्खा भए !

उल्टै, तिम्रो तेस्रो आँखाबाट
कुहिरीमन्डल धुवाँ मुस्लिएर आगो दन्किरहेछ !
तर, आँखाबाट किन उकालो बग्दैन आँसु ?
र त्यो निधारबाट मुस्लिरहेको ज्वालामुखी धूवाँ शान्त पार्दैन हँ !!

फेरि, हामी त झरीमा च्याउ उम्रेजस्ता भुइँमान्छे—
तिमीले आलिशानबाट थुकेको थुक पनि
सधैँ हाम्रै शिरमाथि पर्छ !
तिमीले थुकेको थुकमा चिप्लिएर
हामी नै पछारिनुपर्छ !

हामी त आफ्नै आँसु पनि धरतीमा नझरोस् भनी
रुँदा आकाशतिर फर्कन्छौँ...

आँखै छचल्किएर यदि ओरालो बगे आँसु
कम्तीमा छातीभित्र आफ्नै हृदय लफ्रक्कै भिजाउँछ
तर, बाढी बनेर कहिल्यै तिम्रो आँगन पसेको छैन !
आफ्नै घर बगाउँछ बरु, तिम्रो घर कहिल्यै बगाएको छैन !
अन्य दर्दको त के कुरा !
तिमीलाई त हाम्रो आँसुको बाछिट्टा पनि परेको छैन !

फेरि, तिमी संसारकै शक्तिशाली शासक
तर, मेरो औँठाछापभन्दा नि सस्तो लाग्ने
तथाकथित तेस्रो आँखाका धनी तिमी
किन त्यस्तरी विवेकशून्य भएर सुक्खा भए हँ !

हुन त तिमीलाई
अर्काको दुःखमा बग्ने आँसुको मूल्य के थाहा !
तिम्रो आँसु त—
न उकालो बगेर मस्तिष्क भिजाउँछ !
न ओरालो बगेर हृदय नै भिजाउँछ !!

जमेर पत्थर भएको
हृदय र मस्तिष्कलाई त
आँसुले पनि कहाँ भिजाउन सक्छ र !

फेरि आफ्नो घडीको सबै सुई मुठ्यायाएर
सबैको घडीमा बाह्र बजेको ठान्ने तिमी
तिम्रो उचाइको त्यही स्थिर बाह्र बजे
आफ्नो आँसुलाई पनि स्थिर बनाई जमाएछौ

र–त, तिम्रो जमेको आँसु
न उकालो बग्छ...!
न त ओरालो नै बग्छ....!

यत्तिखेर मेरो घडीमा भने ठीक छ बजेको छ...







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु