कथा:

महेश पौड्याल
पानीमुनिको जून
बुद्धपूर्णिमा । हरेक वर्षझैँ विजय हिँड्यो बुद्धको मन्दिर वरिपरिको सन्ध्याकालीन रौनक हेर्न । उसलाई धार्मिक आस्थाभन्दा पनि त्यहाँको रमणीयतामा चासो थियो ।स्वर्णिम मन्दिर, चारैतिर फूलको महक, आउने–जानेहरूको घुइँचो, र मन्दिरछेउको तलाउ ! त्यो तलाउ, जसको वरिपरि डिलैडिल मार्बल जडान गरिएको थियो । त्यस मार्बलमा चन्द्रमा हजारौँ चन्द्रमाहरूमा बाँडिएर छरिएको रात र ती चन्द्रमाहरूसँगै खेलिरहेका पानीका असङ्ख्य तरङ्गहरू । वास्तवमा त्यो चन्द्रमाहरूको रात थियो ।
पानीमुनिको पूर्ण चन्द्रमा, मोनालिसा । छोटा–छोटा अन्तरालमा बग्ने दुष्ट पापी दुशासनजस्तो चिसो बतास, चन्द्रमाको चीरहरण गर्न तल्लीन हुँदा ऊ जल तरङ्गहरूमा असङ्ख्य द्रौपदीहरू भएर छरिन्थी । सङ्गमरमरको लक्ष्मणरेखा नाघ्न नसकी थकित भएको बतास डिलमा ठोक्किएर करुण क्रन्दन सुनाइरहेको हुन्थ्यो । पूर्ण कमलहरूले सुशोभित त्यस सजल सिंहासनमा चन्द्रमा, र वरिपरि उसको आलोकलाई हेरेर कविता र गीत भर्नेहरूको ताँती । त्यहाँ रात र दिन बीचको पर्खाल देखिदैनथ्यो — सृष्टि दिग्भ्रमित भएजस्तो, आकाश पृथ्वी भएजस्तो, पृथ्वी आकाश भएजस्तो ।
पूजा गर्नेहरू त्यस तलाउमा हातगोडा धुन्थे, सफा हुन्थे र मन्दिर प्रवेश गर्थे । त्यहाँको शान्ति, विचारको पवित्रता, अहिंसाप्रतिको प्रतिबद्धता देख्दा विजयले सोच्यो, ‘साँच्चै यही मुलुक हो त जहाँ बाह्रवर्ष लामो हिंस्रक, सशस्त्र युद्ध भयो, जहाँ बर्माले छेडेर मान्छे मारिए, जहाँ बन्चराले काटिएका टाउकाहरू भीरबाट लडाइए र तीमध्ये एउटा टाउको तल गएर बाझको ठुटोमा अड्किएपछि बाह्रबर्षे छोरोले गएर ‘बुवा’ भन्दै आफ्नो मृत बाबुको टाउको उठायो? पत्यार लाग्दैन, यो त्यही शान्ति क्षेत्र हो, जहाँ मलामी गएका मान्छेहरू घाटमै मारिए, र जल्दो चितामा फालिए; यो त्यही देश हो जहाँ आफैँलाई खाडल खन्न लगाई त्यसै खाडलमा पुरेर मान्छे मारिए । यस्तो शान्त देशमा, यस्तो निर्दाेष प्रकृतिमा, यस स्वर्गमा कसरी हिंसाकोआँकुरा पलाउन सके होलान् ?’
हावाको आफ्नो सङ्गीत, त्यसमा मिसिएका आनी छोइङ डोल्माका मन्त्रहरू र जताततै ॐ मानपेमे हूँ को मधुर गुञ्जन, मानौ यो नै लुम्बिनी हो र भित्र मायादेवी छट्पटाइरहेकी छिन्, फेरि एउटा अर्को बुद्ध जन्माउनलाई । ‘यस्तो चीर शान्त र पवित्र घडीमा त जो जन्मे पनि बुद्धै हुन्छ, सायद,’ विजयलाई लाग्यो ।
यस्तै मनमोहक वातावरण पउनैका लागि त विजय यहाँ आउँथ्यो, हरेक बुद्धपूर्णिमाको रात, एक्लै । ऊ काठमाडौँ आएको पाँचवर्ष भएको थियो र त्यस दिन ऊ त्यस मन्दिरमा गएको पाँचौँ पटक । सधैँझैँ उसले त्यस दिन पनि बाहिरबाटै मन्दिरको परिक्रमा गर्यो र मनमनै भन्यो, ‘फेरि एउटा बुद्ध जन्मे हुन्थ्यो ।’ उसले सोच्यो, ‘अब फेरि बुद्ध जन्मियो भने निर्यातित् नहोस्, नबिदेसियोस्, आफ्नै जन्मभूमिमा अवहेलित भएर ।’
उसको मनमा तरङ्गहरू आइरहे । सोच्यो, ‘विडम्बनै त हो नि, हामी धेरैलाई लुम्बिनीको बारेमा थाह छैन । हामीलाई हाम्रै आफ्ना बुद्धको बारेमा जानकारी दिन चीन, तिब्बत, कम्बोडिया, जापान, थाइलैण्डलगायतका देशहरूबाट भिक्षुहरू आउँछन् । केश मुण्डन गरेका, माला भिरेका, गेरुवा बस्त्रले सडकै रातो पारेर हिँड्छन् हाम्रै देशमा विदेशी भिक्षुहरू, अनि हामीलाई शान्तिको पाठ पढाउँछन् । हामीलाई उनीहरूका कुरा सुन्ने फुर्सद पनि छैन ः अफिस जानु छ, अड्डा जानु छ, आन्दोलनमा जानु छ, टायरको इन्तजाम गर्नु छ, क्रान्ति गर्नु छ । हामीलाई गीत गाउन पाए पुग्छ, ‘बुद्धले शान्ति ल्याएको देश...’ एउटा बुद्धलाई हामीले निर्यात गर्यौँ । अर्को बुद्ध जन्मेछ भने त्यसलाई हामी आफ्नै देशमा युग–यु्गसम्म बाँच्न दिऔँ, गीतमा हैन, व्यवहारमा ।’
विजयले तलाउको डिलमा उभिएर हेर्यो । सँधैझैँ अटल थियो पानीमुनिको चन्द्रमा — निर्भीक, हर्षविभोर, कति सुन्दर ! सोच्यो, सुन्दरता स्वीजरलैण्डको प्याटेन्ट आविष्कार हैन, सुन्दरता हिमाच्छादित पर्वतहरूको पेवा हैन, सुन्दरता बेहुली हुनेहरूको श्रृङ्गारमात्र पनि हैन, सुन्दरता विश्वसुन्दरीको अर्धनग्न शरीर पनि हैन, जसमा रातारात करोडौँको व्यापार विनिमय हुन्छ । सुन्दरता आनन्दित मनहरूको शान्त भाषा हो; यो मान्छे र प्रकृतिको प्रेमालाप हो ।’
त्यस सुन्दर तलाउको किनारमा केही खुड्किलाहरू बनाइएका थिए । ती खुड्किलाहरू ओर्लिएर मानिसहरू पानी छुन जान्थे, हातगोडा धुन्थे, टाउकोमा पानी छर्कन्थे । कसै–कसैले पञ्चामृत खाएजस्तो एक–दुई थोपा पानी मुखमा पनि हाल्थे र दाहिने हात छातीमा राखेर पवित्र भएको सङ्केत गर्थे ।
विगतका पाँचवर्षमा देखेझैँ त्यस दिन पनि विजयले ती खुड्किला छेउमा देख्यो, त्यही भयावह दृश्य । एउटी अधबैँसे आइमाई, घम्लङ्ग कपाल, चारैतिर छरिएको । उसको जीउका लुगा निक्कै पुराना थिए, धेरै ठाउँ फाटेका, झुत्रिएका, धुजाबाती भएका । उसका हातपाउ सुकेका थिए, कुर्कुच्चा फुटेका, गोलीगाँठाको छाला घोट्टिएर कलो भएको ।
ऊ अडिग बसेकी थिई, दिन–दुनियाँले के भन्छ, कुनै मतलब थिएन उसलाई । एकटक हेरिरहेकी थिई ऊ पानीमुनिको जूनलाई सँधैझैँ , एकोहोरो । बच्चाहरू बदामका खोस्टा फ्याँकिरहेका थिए ऊमाथि, र केही गोबरका गुइँठाहरूले हानिरहेका थिए । तर अहँ, ऊसँग दुख्ने समय पनि थिएन ।
कहिलेकाहीँ उसका सुकेका ओठहरू फुक्थे, मन्द हाँसो देखिन्थ्यो उसको विषाद अनुहारमा, अनि पानीको फोकाको आयुजस्तै भएर ती मुस्कानहरू मर्थे फेरि, टाढा विगतमा देखिएको कुनै सुदूर सपनाको सम्झनाजस्तै बनेर । बेलाबेला चिसो सिरेटोले हान्दा उसलाई जाडो लागेर होला, ऊ आफ्ना आङका लुगा सम्हाल्थी, नाङ्गा हातपाउ छोप्थी, अनि पुनः केन्द्रित हुन्थी पानीमुनिको जूनमा ।
विजय पाँचवर्षदेखि यो दृश्य हेर्दै आएको थियो । त्यहाँका स्थायी बासिन्दाहरूले झन कति वर्षदेखि हेर्दै आएका होलान् ? सधैँ ऊ त्यहीँ बसेकी देखिन्थी, बीभत्स रूपमा, अर्धनग्न शरीर लिएर, दिनदुनियाँबाट विमुख, एक्लै ।
पहिलो वर्ष विजयले सोच्यो, होला कोही पगली ! दोस्रो वर्ष उसको मनमा प्रश्नहरू उठे । तर सोध्ने आँट गरेन । फेरि ऊ त्यही छेउको स्कुलमा पढाउने हुनाले उसका धेरै सहकर्मीहरू र विद्यार्थीहरू त्यहीँ छेउछाउ हुने सम्भावना धेरै थियो । त्यस ‘पागल’ आइमाईसँग उसले साक्षात्कार गरेको मान्छेले देखे भने गाइँगुइँ चलाउन रति ढिलो गर्दैनन् भन्ने डर थियो उसलाई ।
यसै गरी प्रश्नै–प्रश्नहरूबीच तेस्रो वर्ष पनि बित्यो । चौथो वर्ष पनि त्यो आइमाई त्यहीँ थिई । विजयले अलि नजिक गएर हेर्यो उसलाई । ऊ नजिक जाँदा त्यस आइमाईले असजिलो महसुस गरेको कुरा थाह पाएर ऊ पछि हट्यो । गलाभरि आएका प्रश्नहरू घुटुक्क निल्दै घर फर्कियो, मध्यरातमा ।
रातभरि बस्दी हो त्यो आइमाई, कति चिसो लाग्दो हो । ऊ सुत्नै सकेन । कुनै गहिरो पीडा छ उसको मनमा भन्ने कुरामा शङ्का थिएन उसलाई, तर बोलचाल नभएसम्म थाह पाइदैन । कठैबरी ती दिदी, नेपाल आमाकी छोरी, नेपाली । उसलाई धिक्कार लाग्यो उसको पुरुषार्थदेखि — त्यति सोध्न पनि नसकेकोमा ।
रातभरि छट्पटी भयो उसलाई; निद्रा परेन । भोलिपल्ट बिहानै उठेर गयो ऊ मन्दिरतिर । तर त्यो आइमाई त्यहाँ थिइन ।
“बाजे, ऊ त्यहाँ बस्ने दिदी कता ?” उसले एक भिक्षुलाई सोध्यो ।
“को, ममता?” भिक्षुले हाँस्दै जवाफ दियो । “त्यो बहुलाईको के ठेगान ?”
“मैले उनलाई धेरैपल्ट देखिसकेँ त्यहाँ ।”
“अँ, हरेक पूर्णिमामा यहाँ आउँछे । आठ वर्ष भैसक्यो ।”
विजय अझ जान्न खोज्थ्यो भिक्षुबाट त्यस आइमाईको बारेमा, तर भिक्षु हतारिएर हिँड्यो । विजय पनि स्कुल जानुपर्ने हुनाले कोठातिर लाग्यो । त्यस आइमाईको नाम “ममता” रहेछ । यति कुरा थाह पायो उसले ।
जीवन, सलल बग्ने पानीजस्तै बग्दै गयो, विभिन्न प्रसङ्गहरू, भड्खालाहरू, पीरमर्काहरू, व्यस्तताहरूकाबीच । बिस्तारै विजयको स्मृतिबाट ममता विस्थापित भई । विजय पनि विभिन्न गाइँगुइँहरूका बीच आफ्नै पेसामा हरायो ।
अर्को वर्ष फेरि आयो बुद्ध पूर्णिमा । फेरि आयो आनी छोइङ् डोल्माको नाम । स्कुलमा भाषण भयो, लुम्बिनीको नाउँ फेरि सुनियो । महामानव थिए राजा सुद्धोदन । श्रेष्ठ नारी थिइन् मायादेवी । गुरुकुलमा नाटक लाग्यो “मायादेवीका सपनाहरू” जसमा रोएका थिए लेखक अभि सुवेदी, टुक्रिएका सपनाहरूका चोइटाहरूमा बुद्धको विकृत आकृति देखेर ।
साँझ पर्यो, जून झुल्कियो । विजय हिँड्यो मन्दिरतिर, एक्लै । त्यस दिन उसलाई अरू सुन्दरतातिर चासो भएन; ऊ सीधै ममताको छेउमा पुगेर उभियो । ममता त्यहीँ थिई — बीभत्स रूप, फाटेका लुगा, झङ्रङ्ग फैलिएको लट्टे कपाल, काँपिरहेका ओठहरू, पानीमुनिको जूनमा केन्द्रित अटल आँखाहरू । ती आँखामा एउटा अटल विश्वास देखिन्थ्यो, अद्वितीय धैर्य ।
विजय अलि पर ढुङ्गामा बस्यो । कतै टाढाबाट बाँसुरीको आवाज हावामा मिसिएर आइरहेको थियो । यतातिर ॐ मानेपेमे हूँ पनि उत्तिकै सशक्त थियो ।
रात गहिरिँदै गयो, मान्छे पातलिँदै गए । मन्दिरको मूलद्वार बन्द भयो । रहल मान्छेहरूले पछिल्लो ढोकाबाट प्रवेश गरेर बुद्धको दर्शन गरे । एकैछिनमा सबै शान्त भयो । बत्ती निभे, सन्नाटाको एकलौटी राज आयो ।
विजयले यताउति हेर्यो, कोही थिएनन् । उसको स्कुलका साथी र विद्यार्थीहरूको छायासम्म देखिएन । ऊ ढुक्क भयो ।
ममता त्यहीँ थिई, शान्त, तपस्यारत भिक्षुणीजस्तै । अब विजयले साहस गर्यो, नजिक जाने, सोध्ने । ममता आफ्नै ध्यानमा मस्त थिई, तल पानीमा हाँसिरहेको जूनसँग साक्षात्कार गर्दै । उसलाई के मतलव, छेउछाउ को आयो, को गयो ?
“दिदी !” विजयले डराई–डराई बोलायो । उसको आवाजलाई बतासले टिपेर जङ्गलतिर हुत्याइदियो । ममताले सुनिन । “दिदी !” फेरि बोलायो उसले, अलि नजिक आएर । ममताले पुलुक्क हेरी उसलाई । उसका आँखामा तनाब देखिन्थ्यो । क्रोधित थिई ऊ, आफ्नो ध्यान भङ्ग भएकोमा ।
ती क्रोधित आँखाले हच्क्याइदियो विजयलाई । ग्लानि भयो उसलाई आफ्नो दुस्साहसप्रति । ममता फेरि मग्न भई ध्यानमा ।
एकछिन आफैँसँग साक्षात्कारमा व्यस्त भयो विजय, सोधौँ कि नसोधौँ भन्ने दोधारमा । नसोधी घर फर्किए प्रश्न फेरि उठ्नेछन् उसको मनमा : पुरुषार्थका, अर्थहीन शिक्षाका, खोक्रा आदर्शका, सेता हात्तीहरूका, प्रश्नै प्रश्न, कति हो कति ।
उसले मन बाँध्यो, साहस गर्यो, केही अघि बढ्यो र बोल्यो, “दिदी, किन यसरी....”
“छुस्स्, चूप !” प्रश्न पूरा हुन नपाउँदै प्रतिरोध आयो । ममता ऊतिर फर्किएकी थिई, उसका औँला ओठमा थिए, नबोल्ने इशारा गर्दै । साँच्चिकै बहुलाहीजस्ती देख्खिई ममता विजयको नजरमा ।
“न बोल्नुस् है, ऊ डराउँछ । उः, उः, टिप्यो, टिप्यो । अब लिएर आउँछ । आयो, उः । बाबु ! बाबु !”
विजयले केही बुझेन । ममताको अनुहारको तनाब, एउटा अनौठो खुसीमा परिणत भएको थियो । ऊ हाँसिरहेकी थिई, रमाइरहेकी थिई ।
“दिदी, को आयो? खै म त कोही देख्दिनँ यहाँ ।”
“न बोल्नुस् भनेको, ऊ डराएर भाग्छ । दिउँसो पनि ऊ आउँदैथ्यो, मान्छेहरूको बोली सुनेर भाग्यो । को र ? मेरो बाबु नि ! ऊ, आयो, जून लिएर, मेरो छोरो !”
त्यसपछि कुनै प्रश्नोत्तर भएन । विजयलाई एउटा भिक्षुले जानकारी दियो, आठ वर्षअघि तलाउको डिलमा आफ्नो डेडवर्षे छोरो राखेर खुट्टा धुन लाग्दा पानीमुनिको जून टिप्न लम्किएको छोरो अझैसम्म फर्किएको थिएन । भिक्षुले यो पनि जानकारी दियो, हरेक पूर्णिमामा ममता त्यहाँ आउँछे, जून टिप्न गएको छोरोलाई आफ्नो आँचलमा पुनः स्वातग गर्न ।
ममता त्यहीँ प्रतीक्षारत थिई, विजय घर फर्कियो । उसको मनमा एउटै प्रश्न थियोः त्यस आइमाईको नाम ‘ममता’ कुन ज्योतिषीले जुराएको होला ?


















