कविता:

केशव सिग्देल
नदी
हिमालमा सभ्यताको नक्सा बनाउँछ
नदी
बहावका डोजरहरुले
नागबेली खन्छ
र, भत्काउँदै पहाडका कन्दराहरु
तराईका फाँटहरुसम्म पुग्छ।
आफूले बनाएको सभ्यता
र त्यसमा पोतिएको जीवन हेर्न
नदी
अझ होचो र गहिरो समुन्द्रमा मिसिइन्छ
र हिमालतिर फर्किएर खिच्छ उचाइको तस्बिर।
आफूमात्र बग्दैन नदी,
त्यससंगै बग्छन् मानिसका सपनाहरु—
कहिँ ति फोका भएर हराउँछन्
कहिले विथोलिएर बाढी ल्याउँछन्, र
कतै फूल्छन् रङ्ग बनेर जीवनको ।
पानीको अविरल यात्रा हो नदी
तर त्यसमा गुजुल्टिएर बगिरहेका मान्छेका सपनाहरु
झर्छन् भन्ने केही छैन समुन्द्रको गहिराइ
ती सपनाहरुलाई आकाशमा उडाउन
घामसँगको सहवास बढाउँछ
र बादल दौडाउँछ आकाशमा नदी।
गहिराइ तिर झरिरहेको मात्र देखिए पनि
अग्लिँदै गएको सभ्यताको सर्जक हो नदी।
जीवनको चित्र बनाउने कूचीजस्तो
पृथ्वीलाई क्यानभास बनाएर दौडिरहन्छ नदी,
हिमालको उचाइ र समुन्द्रको गहिराइबीच सेतु भएर
सिंगै जीवन बगिरहेको हुन्छ नदी।


















