नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


केशव सिग्देल

समय–कथा

समयले एउटा प्रश्न गर्‍यो–
गुम्बामा
शान्तिको प्रार्थनासभा चलाउन
हतियार उज्याइरहेका
तिमी को हौ ?

यो सभ्यतामाथि गरिएको प्रश्न पनि हुन सक्छ
अथवा,
समयको आफ्नै कथा ।
+ + +
प्रश्नहरु आफैंमा केही होइनन्
कसैले त्यसलाई प्रश्न नमानेसम्म
उत्तर दिन आवश्यक नठानेसम्म
कसैले प्रश्नहरुको स्वामित्व नलिएसम्म
ति केवल
झुक्किएर सुसेलिएका
समयका आर्तस्वरहरु मात्र हुन जान्छन् ।

त्यो प्रश्न एकछिन्
हावामा टक्क अडियो ।

त्यो प्रश्न अब प्रश्न नभएर
समय आफ्नै विरुद्ध स्वाभाविक व्यङ्ग्य जस्तो
विरोधसभामा दहन गर्न ठिक्क पारिएको पुतला जस्तो
खिसिट्युरीमा फुस्किएको नमिठो हाँसो जस्तो
प्रश्नभन्दा पनि असजिलो एउटा पहेली जस्तो
थप प्रश्नहरुको आह्वान भएर
आकाशमा अडिरह्यो ।
+ + +
गुम्बानजिकै
तरवारमा शान लगाइरहेको एउटा भिक्षु
ठूलै जिम्मेवारीले थिचिएर शिथिल भएजसरी
विस्तारै उठ्छ,
त्यो उज्याइएको धारलाई जाँच गर्न
बुढी औंलाको पछिल्लो भागलाई धारमा छुवाएर
टुप्पोदेखिे फेदसम्म झार्छ ।

केही निश्चिन्त भए झैं
गुम्बाको चारैपट्टी आँखा दौडाउँछ, र
मानौं खतरामा परेको गुम्बा र ऊ आँफै
अब पुरै सुरक्षित छ जस्तो,
गुम्बामा शुरु हुन लागेको
शान्तिको प्रार्थनासभामा आइलाग्ने
सबै विघ्नहरुबाट मुक्त भएजस्तो,
त्यो भिक्षु सन्तोषको लामो सास लिन्छ, र
शान लागेको त्यो तरवार म्यानमा राख्छ
अनि आफैं पनि प्रार्थनासभामा सामेल हुन जान्छ ।
+ + +
यो भिक्षु
हामी बाँचेको समयको कथा हो
र प्रश्न सोध्ने समय आफैं
त्यो कथाको सूत्राधार ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु