कविता:

गीता त्रिपाठी
अटुट…
जब शीर्षस्थ हुन्छौ तिमी
मेरा हरफहरू
गीत भएर बग्न थाल्छन् – तिमीतिरै।
तिम्रो केन्द्रदेखि
मेरो परिधिसम्मको
अनन्त दूरीमा
लाग्छ,
बगिरहेछ युगौँदेखि
विश्वासको एक
अटुट नदी।
पानी छउञ्जेल नदीमा
किनारहरू
सहयात्रामै हुन्छन् हरसमय।
यही समयको
एउटा सहयात्री म
उमारेर
सम्पूर्ण स्मृतिका तरङ्गहरू
त्यही नदीमा
तिम्रो गीतको मीठो धुन
पर्खिरहनेछु … अटुट …


















