कविता:

गणेशप्रसाद दङ्गाल
कालोपाटी र मष्तिष्क
सानो छँदा स्कूलमा
जब “हाफट्याम”को घण्टी बज्थ्यो– टिनटिन,
कालोपाटीमा लेख्दालेख्दै ठूटो भएका चकहरू
कक्षाभित्रै फालेर
शिक्षक बाहिर निस्किन्थे ।
बाँसघारीमा सारौटेझैँ
हामी होहल्ला गर्दै उठ्थ्यौँ ,
दगुरेर अगाडि जान्थ्यौँ
र शिक्षकले फालेका
चकका स–साना टुक्राहरू खोजेर/टिपेर
समाउँथ्यौँ चराका नङ्ग्रा जस्ता स–साना औँलाहरूले
र हानथापगर्दै चढ्थ्यौँ —
शिक्षक बस्ने काठको कालो पुरानो कुर्सीमाथि
र कालोपाटी भरी केर्थ्यौँ अनेक कुराहरू ।
राम्रोसँग लेख्न नजानेका बाङ्गा–टिङ्गा क–ख,
फूलका, कुखुराका बेढङ्गका चित्र,
अनि ठाडा, तेर्सा, नागबेली अर्थहीन धर्काहरू– यत्रतत्र ।
“हाफट्याम” सकिन्थ्यो,
करिव–करिव कुकुरले पुच्छर हल्लाएझैँ
हातमा केहीबाङ्गो पाइपको कालो छडी हल्लाउँदै
अर्को शिक्षक कक्षामा आउँथे,
देख्थे– हामीले अनेक कुरा केरेर स....फा बनाएको कालोपाटी,
र बेन्चअगाडि पाइप बजार्दै
हप्काउँथे–“यो कालोपाटी फोहोर गर्ने को–को हो ?”
कसको ओठ खुल्न सक्थ्यो र !
मौन, मौन ।
अन्तिममा निरुपाए भएर उनी आफै
लुगाको सेतो झुम्रोले
पसिना नै छुट्ने गरी
घोटी घोटी पुछ्थे– तलदेखि माथिसम्म
र कालोपाटी पुन सफा हुन्थ्यो ।
समयक्रममा–
स्कूल सकियो,
विश्वविद्यालय सकियो,
सोचेँ– आकाशै नाघेँ,
सोचेँ– धर्ती नै छेडेँ ।
तर आज लागिरहेछ–
स्कूल सक्नु,
विश्वविद्यालय सक्नु
उही बालखमा केटाकेटीले
कालोपाटीमा अनेक कुराहरू
केरेजस्तो मात्र भएछ,
ज्ञान आर्जनको नाउँमा
मष्तिष्करूपी कालोपाटीमा
फगत अनेक कुराहरू केरेछु–
अस्पष्ट, नमिलेका, बेढङ्गका
र फोहोर बनाएछु आफ्नो मष्तिष्क ।
हो, मैले ज्ञानका सुन्दर अक्षरहरू कोर्न सकिनछु,
चेतनाका सुन्दर आकृति बनाउन सकिनछु ।
आजकल बारम्बार आँखामा आइरहन्छ त्यो दृश्य,
अनेक कुरा केरेर फोहोर बनाएको कालोपाटीलाई
शिक्षकले सेतो झुम्राले
सर्लक्कै पुछेको त्यो दृश्य ।
र सोचिरहन्छु–
त्यो सेतो झुम्राले कालोपाटीलाई
सर्लक्क पुछे जसरी
यो अनेक मिथ्या ज्ञानले
फोहोर भएको मष्तिष्कलाई
शून्य हुने गरी पुछ्न पाए ?!


















