कविता:

भीष्म उप्रेती
विस्मृति
पत्रिका बाँड्ने युवकले
भर्खरै आँगनमा छोडिगएको अखबार
टिप्न जाँदाजाँदै
झरीले अक्षर जति बगाएर लगेपछि
अक्षरसँगै बगेर समाचारहरू
समाचारसँगै बगेर उत्सुकता, उत्तेजना,
निराशा, आक्रोस र समवेदना
उपयोगहीन केवल ढाडिएको
कागज मात्र बाँकी रहेजस्तो !
कल्पनाशीलताले सधैँ उर्बर रहने
एउटा लेखक
पुरिएर विस्मृतिको गर्तमा
अक्षरका आकार, नृत्य, धून, अर्थ
र त्यसको शक्तिसामथ्र्य बिर्सेर
शून्यमा टोलाइरहेको ।
कलम समाइरहने हात छुन्छु स्नेह र सम्मानले
हेर्छु आँखामा र देख्छु केवल
जीवनको आकर्षण उडिसकेको
बादलले आकाशको निलिमालाई छोपेजस्तो उदासी गहिरो
हरिया पातहरू पलाउन छोडेको
फूलका रङहरू कोपिलाउन छोडेको
चराहरूले समेत हाँगामा बसेर गीत गाउन छोडेको
जीवनको दौड दौडिरहेका सबैले देख्न छोडेको
विचरा लेखक
ढल्न मात्र नसकेको निर्जीव बृद्ध रूखजस्तो ।


















