कविता:

उषा शेरचन
जिन्दगी मृत्युको कहतारोमा
शून्य.....शून्य.....अति शून्य । ...
भयानक पिँजडाभित्र
बन्द मोटरहरु गुडिरहेछन्
— शून्य यात्रीहरु ओसार्दै
— शुन्य छातीहरु ओसार्दै
भक्काना छुट्छन् मौनताबीच
— बन्द ज्वालामुखीहरु
अभिशाप बन्दछन् शून्यताबीच
— जीवन र मृत्युहरु
जीवनहरु गिल्ला गर्दै छन्
मृत्युहरु ठट्टा गर्दै छन्
नजीकैबाट सबै सबैलाई पुन नियाली हेर्दै छन्
— बीभत्स हाँसो बोकेर
— डरलाग्दो चीत्कार खोपेर
औँलाका काप—कापबाट—
बिचरो जिन्दगी टोल्हाइरहेछ
मृत्यु पनि चियाइरहेछ
नालीबाट फुटेका एकनासे स्वरमा
—जिन्दगी पनि बगिरहेछ
एकनासे आवाजहरु गुञ्जिरहेछन्
समयलाई चिरिरहेछन्
(सायद अपरेशन गर्दैछन्)
(२)
आशाका किरणहरु फुट्न नपाउँदै
—भ्रुणहत्या नगर आवेशमा आएर
भावनाका लहरहरु बग्न नपाउँदै
— बाँध नबाँध भावावेशमा आएर
रत्यौली खेल्न देउ, जिन्दगीलाई एक छिन्
—लामो शून्यतालाई भत्काएर
—लामो मौनतालाई फुटालेर
—जिन्दगीलाई कोल्टो फेर्न देउ
—जिन्दगीलाई नया आयाम थप्न देउ
प्रतिक्षालाई बिश्राम दिन—
झमझम नसा लाग्न थालिसक्यो
बेहोसी छाउन लागिसक्यो
बजाइदेउ सम्पूर्ण तार छेडेर
—जिन्दगीलाई अब नशा लाग्न नपाओस
सुनाईदेउ सम्पूर्ण राग छेडेर
—जिन्दगी अब बेहोसिन नपाओस
शून्यताले थिच्न नपाओस् कतै
मौनताले विझ्न नपाओस् कतै
नभए रङ्गाईदेउ जिन्दगीलाई
गितारका तार खेलेर
नभए छेडिदेउ भावनालाई
सितारका धारिला तार रेटेर
(३)
रगताम्य हुने गरी—
स्वप्नलोक बाट ब्यूझोस जिन्दगी
—तारहरुका प्रत्येक घोचाइबाट
आउ भत्काउ शून्यतालाई । सपनाबाट ब्यूँझाएर
आउ जलाउ मौनतालाई । सपनाबाट ब्यूँझाएर
ओहो ! कसले छेड्न थाले फेरि
— यी सुमधुर तरङ्गहरु
ओहो ! किन हाँस्न थाले फेरि
— यी डरलाग्दा मृत्युहरु
हेरत ! जिन्दगीलाई हँसाई हँसाई
— मार्ने दाउ हेरेको
हेरत ! जिन्दगीलाई फकाई फकाई
— मार्ने सुर कसेकोे
हेरत ! जिन्दगीलाई खेलाई खेलाई
— मार्ने बिचार लिएको
उ....उ....उ...लौ हेर
उ....उ....उ...लौ हेर
मृत्यु पुन नियाली गयो
— एउटा प्रतिक्षा दिएर
मृत्यु पुन फर्केर गयो
—मीठो आश्वासन लिएर



















