कविता:

उषा शेरचन
अनाम अनाम शहीद बनिदिन्छन् तिनीहरु
(१)
सफलताका थुप्रै थुप्रै कामना बोकाएर
शान्तिका थुप्रै थुपै सन्देश लदाएर
— हरेक समारोहमा
— हरेक उत्सवमा
— हरेक मन्दिरमा
करतलध्वनिको गुञ्जाइसँगै
वैदिक ऋचाका उच्चारणसँगै
मन्दिरका पवित्र घण्टाका आवाजसँगै
अक्कासिँदै अक्कासिँदै उडेका
—बिचरा परेवाका जोडीहरुलाई
बतास्सिँदै बतास्सिँदै गएका
—विचरा परेवाका जोडीहरुलाई
के थाह ? कुने पनि बेला
— कतै खेतका
— कतै पाखामा
— कतै आलीमा
— कतै डालीमा
बन्दुकको गोलीले छाती नै छेडिन सक्छ भनेर
गुलेलीको मटयाङग्राले टाउकै फुट्न सक्छ भनेर
धनुषबाट छुटेको शरले पेटै रोपिन सक्छ भनेर
(२)
परेवाका लागि गुँड नभएका
गुँडका लागि परेवा भएका
उड्नका लागि पखेटा भएका
पखेटाका लागि उड्न परेका
ती परेवाका जोडीहरु
फर्केर पो के । नफर्केर पो के ।
मरेर पो के । नमरेर पो के ।।
तिनीहरुका शिकारमा कुनै जुलुस निस्कनेछैन
तिनीहरुका विवशतामा कुनै विद्रोह हरनेछैन
तिनीहरुका मृत्युमा कुनै आवाज उठ्नेछैन
तिनीहरुका अन्त्येष्टिमा कसैले दुईथोपा आँसु झार्नेछैनन्
तिनीहरुका पुण्यस्मृतिमा कसैले श्रद्धाञ्जलि अर्पनेछैनन्
यहाँ कुनै ब्यास छैन
— तिनीहरुका महाभारत लेखिदिने
यहाँ कुनै वाल्मीकि छैन
— तिनीहरुका रामायण लेखिदिने
यहाँ कुनै होमर छैन
— तिनीहरुका ओडिसी र इलिएड लेखिदिने
चुपचाप चुपचाप मृत्यु स्वीकार्छन् । तिनीहरु
अनाम अनाम शहीद बनिदिन्छन् । तिनीहरु



















