कविता:

सुरेश हाचेकाली
जीवनैजीवनको दिग्विजय
निम्ठो डोको मल बोकेर
बेंसी ओर्लदै गरेका आइमाईहरू
ओरालो झर्दा पनि गीतमय छन्
उकालो चढ्दा पनि गीतमय छन्
बेजोड छ
जिजीविषाको नैरन्तर्य
निबुवाको फूलजस्तै
स्निग्ध गाउँले नानीहरू
पहेँले लहरोको चस्मा लगाएर
डाक्टर भएको अभिनय गर्छन्
अहा !
जिन्दगीको कति मीठो अनुप्रास !
हिउँको रासबाट व्युत्पन्न भएपछि
गुराँसघारीमा बरालिन्छ
निष्कलङ्क हिमाली हावा
र जयगान गर्छ जीवनको
क्षितिजको बार्दलीमा
छम्छमाइरहने शिशु सूर्य
जूनको खुर्पे टीको लगाएर
धर्तीमा खुत्रुक्क ओर्लने सन्ध्या
आकाशको उत्तरी खर्कतिर
बेगवान दगुरिरहने
बादलुहरूको सेतो बथान
सर्वब्यापी छन्
जीवनका यी सरगमहरू
लम्किरहेको लहरा
टुसाउँदै गरेको रूख
सिँगौरी खेलिरहेको तिल्के बहर
तोरीबारीमा उडिरहेका छिचिमिराहरू
र दगुरिरहेको धावक खोला
यी जम्मै
जीवनका होनहार स्वरूपहरू हुन्
सुनाखरीको परागबाट
वाष्पीकरण भइरहेको तरुनी वासना
दूधकोशीको ढुङ्गामा हरियो लेउ
ज्यामिरको झ्याँङमा
पन्छीहरूको मोहक खैलाबैला
जीवनका सजीव अभिव्यञ्जनाहरू हुन्
श्यामकर्णे घोडाका
हजारौं खुरहरूले कुल्चेपछि पनि
परेडभूमिको माटोमा
कायम थियो उर्वरा गन्ध
र दूबोको अदम्यअङ्कुरण
देखेँ जीवनैजीवनको दिग्विजय



















