कविता:

सुरेश हाचेकाली
दुःखको दूबो
शताब्दीको पटाङ्गिनीमा
दुःखको दूबो हुर्कने प्रथा हुर्किरहेको हेर
दुःखहरू सार्वभौम बलिया भएका छन्
बुद्धका पसनीहरूले कति उखेले
शताब्दीको बारीबाट दुःखका दूबोहरू
अनुयायीहरूले हिसाब नफस्र्याइरहेको हेर
हेर्नुपर्छ हेरिरहु—
आँसुको प्रशान्तमा चुर्लुम्म डुबेको पृथ्वी,
महापुरुषहरूका चिहानमाथि
लहलहाइरहेका दुःखका दूबोहरू
र त्यसमाथि
बयेली खेल्ने अलच्छिनी हावा
दुःख विरोधी आँखाले हेर
चेप्टिएको देशको नयनमा
दुःखका फुटुँ फुटुँ दहहरू
हामीलाई जुनीभर चस्किरहनेछ
उही विध्वङ्शको बिहिबार
जसले नागासाकीलाई निलेर
आणबिक दुःखको दूबो रोपेको थियो
खोजिरहेंछु एउटा युगीन कचिया
जसले काटोस्
दुःखका काँडेदार दूबोहरू
र छर्न सकुँ
यो शताब्दीको पटाङ्गिनीमा
सत्य,शिव र सौन्दर्यका शतबीजहरू
शताब्दीको पटाङ्गिनीमा
दुःखको दूबो हुर्कने प्रथा हुर्किरहेको हेर
दुःखहरू सार्वभौम बलिया भएका छन्



















