कविता:

राजेश्वर कार्की
खलनायकको टापु र ऐनाको बोली
युगौँदेखि म जुन टापुमा छु
यो टापु स्वयम्मै
प्रकृतिको आदर्श आइसोलेशनमा छ ।
यो टापुमा
घाम, जून र ताराहरू पनि
समुद्रमा नुहाएर मात्र प्रवेश गर्छन्
यहाँको आकाश–धरती पनि
बारबार समुद्रमा नुहाएर पवित्र बन्छन्
यहाँका घरगाउँ र गोरेटाहरू पनि
आफ्नै सुकुमारी सौन्दर्यले पुलकित छन्
यहाँका वनजङ्गलहरू पनि
आफ्नै सुकुमारी सुगन्धले रोमाञ्चित छन्
यहाँका चराहरू पनि
समुद्रको सरगममा आफ्नै भाका सुसेल्छन्
मानौँ, यो टापु स्वयम् नै
विश्व–सौन्दर्यको सर्वश्री ताज हो
हिजोआज, यो शान्त र सुन्दर टापुमा
हूलका हूल मानिसहरू ननुहाएरै प्रवेश गरिरहेछन्
कोही अन्यबाट सताइएर त
कोही आफ्नोमा रमाउन नसकेर प्रवेश गरिहेछन्
कति मानिसहरू त
विभिन्न अवतारको पासपोर्ट भिरेर प्रवेश गरिरहेछन्
कोही अधर्मी मनका धर्मभिरु मसिहा
कोही नैतिक बार भत्काउन माहिर विचारका मसिहा
कोही काला कर्तुत ढाक्न माहिर बर्दीका मसिहा
कोही ढुङ्गाजस्तो आफ्नै स्वार्थको पोकोमा ठेस लागेका दर्दका मसिहा
सबैसबै बस्तीभरि नायक अवतारमा अवतरित छन्
म भने कुनै किंवदन्तीजस्तो
एक्लो वृहस्पति झूटो ठानिएसरि
नायकहरूबीच नजरमा खलनायक भइसकेछु
यो खलनायकी आवरणको पीडाबाट मुक्त हुन
म, अर्को कुन टापुको शरणमा जाऊँ
र आइसोलेशनमा बसूँ !
जहाँ जाऊँ द्वारमै कोरोना तैनाथ छन्
भित्र त झन्
मेरो टापुका मसिहाहरूका पनि बाबुबाजेजस्ता
महामसिहाहरू पो राज गर्दा रहेछन्...
तर त्यो टापुको एउटा राज !
त्यहाँको ऐनामा—
नायक अवतारका महामसिहाहरू खलनायक देखिन्थे
खलनायक दरिएको म नायक देखिन्थेँ
अब म सधैँझैं आवरण देखिने नभएर,
आत्मसत्य बोल्ने यो ऐनाले
म मेरै टापुको सीमाबार लगाउन चाहन्छु !
ता कि आफ्नो सक्कली अनुहार देखेर
छिमेकीहरू पनि लजाऊन् !



















