कविता:

नारायण तिवारी
चाँदीको घेरा
साराका सारा बादल
हराएछन्
बादल नै जब रहेनन् भने
जुनसुकै बादलमा चाँदीको घेराको कुरा
के कुरा †
म सोचमग्न छु–
कसरी कोही आफूलाई
अलिकति ‘मोज’सित साट्न सक्छन्
‘सयल’ सित पनि
कोही बिक्री भइदिन सक्दारहेछन्
लागिरहेछ मलाई –
यी चाँदीबोकेका मानिसहरू
अलिकति बाँकी चाँदीलाई पनि
वैभवतासित मोलतोल गरेर
बेपत्ता भैसकेका रहेछन्
कतिबेला– कतिबेला
र यसबेला
आकाशले शून्यता भोगिरहेछ
म प्रतीक्षामा छु–
यो ‘जड’ कुनैबेला
पलायनलाई पछारेर
चारैतिर, पुनः आफ्नो प्रारूपमा फर्किनेछ,
परिवर्तित सेतो टल्किने चाँदी †



















