कविता:

मोहित जोशी
अग्निपरीक्षा
आँधीहुरीमा पनि नखसेका पातहरू
खस्न सक्छन् मन्द हावाले।
तिम्रा आक्षेपहरूले जलेर म
वीभत्स खरानी भएकी हुँ।
खरानी कहाँ फेरी जल्थ्यो अग्निपरीक्षामा?
मेरो, सहस्र स्त्रीहरूको हार हो रामायण!
नारीको हारमा कसरी जित्यो सत्य र धर्म?
ओ! सत्ताप्रेमी शासक,
कथित सम्मानका लागि माग्छौ मेरो स्वाभिमान भने,
कसरी नगर्नु मैले सङ्का तिम्रो मर्यादामा,
भन दिन सक्छौ अग्निपरीक्षा?
नयाँ अवतारमा फेरि जन्मिएकी छु
र लेखिसकेँ सितायण,
जसका हरेक अध्यायमा दिएकीछु;—
हरदिन एक अग्निपरीक्षा।
आफूलाई कुनै रामको योग्य प्रमाणित गर्न होइन।
स्वाभिमान र स्वतन्त्रताका लागि।
इतिहासले बुझ्न जरूरी छ;
उड्नकै लागि जन्मिनेहरूलाई
खराउ एक भार मात्रै हो!
म पवित्रताको अर्थ सिकाउनेछु
तिमी र यो समाजलाई, जसले कोरेर लक्ष्मणरेखा
बनाएका छन् घरहरू कारावास!
जहाँ अग्निपरीक्षा त दिइरहेछन् स्त्रीका भ्रुणहरूपनि।
यान्त्रणाहरूको आगोमा रापिएर
हतियार बनेको छ मेरो शरीर,
छाती भित्रको ज्वालाले
म जलाउनेछु तिम्रो साम्राज्य,
जलेको साम्राज्यको राख र
ब्रह्माण्डका सम्पूर्ण रहस्य अटाएर
योनीभित्र जन्माउनेछु एक सुनौलो युग,
पिलाएर सभ्यता मेरा स्तनले हुर्काउनेछु लवकुश।
त्यहाँ तिम्रो सङ्कीर्ण,
खोक्रा आदर्शहरूको शेषसम्म रहनेछैन।
प्रेमको अर्थ बस् प्रेम हुनेछ,
बन्धि हुनु वा कलङ्कित हुनु हुनेछैन।
अग्निपरीक्षामा होमिदा-होमिदै
आगोले पनि थाह पाएको हुनुपर्छ
मेरो शरीरको गन्ध;— एक-डढेको-सभ्यता!
जिन्दगीले आगो निलिसकेपछि
आगोले सक्ने छैन जिन्दगी निल्न!
म जुरुक्क उठ्नेछु खरानीबाट,
र
उड्नेछु ठ्याकै फ़ीनिक्स चरा जसरी।
कवितामा उल्लेख गरिएको मिथक फ़ीनिक्स चराको बारेमा:
फ़ीनिक्स पक्षीको जीवनचक्र ५०० देखी १००० वर्षको हुनेगर्छ जसको अन्त्यमा यो आफ्नो वरिपरी रुखका हाँगाहरुको गुँड बनाएर त्यसमा स्वयं जल्ने गर्छ। गुँड र पक्षी दुवै जलेर खरानी बन्छन् र त्यही खरानीबाट एक नया फ़ीनिक्स वा त्यसको अण्डा पुनर्जन्म लिन्छन्। यो नयाँ जन्मिएको फ़ीनिक्सको जीवन काल पुरानो फ़ीनिक्स जतिनै हुन्छ। केही प्राचीन कथाहरुको अनुसार यो मानव रूपमा कायाकल्प गर्नसक्ने क्षमता राख्छ।



















