कविता:

मौन आवाज
ढुंगा
अक्सर -
ऊ रंगहरुको कुरा गर्थ्यो !
फूल - पात र / हरियालीको कुरा गर्थ्यो !
ऊ भन्थ्यो -
सधैं भन्थ्यो -
यो जिन्दगी सुन्दर दृश्य हो !
भन्थ्यो -
यो जिन्दगी सुमधुर संगीत हो !
भन्थ्यो -
यो जिन्दगी प्रेम र / सद्भावको गीत हो !
हिँड्दा सुस्तरी हिँड्थ्यो
बोल्दा सुस्तरी बोल्थ्यो -
भन्थ्यो -
सख्त हुनु ढुंगा हुनु हो !
ऊ अक्सर हरियो घाँसमा पल्टिएर निदाउँथ्यो -
आकाशसँग कुरा गर्थ्यो -
बादल -
बतास -
घाम -
पानी र माटोसँग कुरा गर्थ्यो !
भन्थ्यो -
यो जिन्दगी प्रकृति हो !
भन्थ्यो -
यो जिन्दगी माटो हो !
भन्थ्यो -
यो जिन्दगी पानी हो -
घाम हो -
बतास हो -
बादल हो -
र / इन्द्रेणी हो !
ऊ पहाडलाई निरन्तर भन्थ्यो -
आँधीको बाटो नछेक !
ऊ बारम्बार भन्थ्यो -
आँधी क्षणिक हुन्छ -
आवेग क्षणिक हुन्छ !
नदीलाई किनारा देखाउँथ्यो -
र / भन्थ्यो बिछोड पीडादायी हुन्छ !
ऊ बगरलाई हेर्थ्यो -
र / भन्थ्यो -
यो जिन्दगी एक्लोपन होइन !
भन्थ्यो -
यो जिन्दगी समुह हो -
समुदाय हो !
भन्थ्यो -
यो जिन्दगी घर हो - परिवार हो !
ऊ कहिलेकाहीं विगत सम्झेर
रुन्थ्यो -
र / भन्थ्यो आँशु भरिएको आँखा सजीव हुन्छ !
ऊ कोमल थियो -
ऊ मान्छेको मात्रै होइन -
ढुंगाको पनि मन नदुखोस् भन्थो !
किनकि -
मान्छे हुनुअघि ऊ ढुंगा थियो !
बारम्बार टुक्रिएर - चोइटिएर ऊ मान्छे बनेको थियो !



















