कविता:

मनु मन्जिल
बाघ
निश्चित छ अब कुनै दिन बाघ
इतिहासमा पसेको खबर छापिनेछ
अखबारमा ।
छुन नसकिने त्यो सौन्दर्य रहनेछैन
पुग्न नसकिने ओढारहरू रहनेछैनन् ।
अँध्यारा गोप्यताहरू घाममा छरिनेछन्
आँखामा आगो बोकेर कोही हिँड्नेछैन
शब्द–शब्दमा प्रलय बोल्ने कोही हुनेछैन ।
जङ्गलमा आदिम क्रोधको तारा अस्ताउनेछ
हरियो समुद्रको सुन्दर लहर त्यहीँ डुब्नेछ
बच्चाहरू पनि खेल खेल्न जङ्गल पस्नेछन् ।
अँध्याराको गाढापन, भयको सघनता सकिनेछ
हरिया रूखपातले मात्रै
जङ्गलको सौन्दर्य बचाउन सक्नेछैनन्
जङ्गल सिर्फ नायकले छाडी हिँडेको
यौटा कथा रहनेछ ।
जित्न हिँडेको मान्छे लम्किरहनेछ शून्यमा ।
त्रासदीको मञ्च खाली रहनेछ
र हराउनेछ वीर स–साना कमजोरीहरूमाझ ।



















