कविता:

मनु मन्जिल
पुर्खाहरुप्रति
म पुर्खाहरुले छाएको छानाले वर्षात् रोक्छु
पुर्खाहरुले उभ्याएको पर्खालले आँधी छेक्छु
मसित मैले नबनाएको एउटा सुन्दर घर छ
मैले नकमाएको ऐश्वर्य छ ।
म पुर्खाकै झ्यालमा बसेर इन्द्रेणी हेर्छु
पुर्खाकै बार्दलीबाट बादलहरुको मेला हेर्छु
बिहानसगै उठेर
सुनौलो हिउँको घुम ओढेका शिखरहरु हेर्छु
साँझ ताराहरुको सम्मेलन हेर्छु ।
राती कोठैमा ओर्लिन्छन् रङ्गीन सपनाहरु
मेरैझै लाग्ने प्रिय ती सपनाहरु हेर्छु ।
हावालाई पनि थाहा छ मेरो ठेगाना
वनका चराहरुलाई पनि थाहा छ
घामलाई प्रेमले लिपिएको मेरो आँगन थाहा छ
मलाई थाहा हुनुअगावैदेखि
टाढादेखि आउने बूढो हुलाकीलाई थाहा छ मेरो ठेगाना
मैले कहिल्यै नबताएको ठेगाना
कहिल्यै नबनाएको मेरो परिचय
अपरचित कुन्नि क–कसलाई पो थाहा छ ।
मसित मैले नरोपेको फूलको बगैचाँ पनि छ
मैले कहिल्यै नखनेको करेसाबारी पनि छ
मेरा पुर्खैले हुर्काएको रङ् हो
जुन तिमी मेरो बगैँचामा खेलेर निस्कने किरणहरुमा देख्छौ
मेरा पुर्खैले बालेको दियाको हो
जुन तिमी मेरो घरआँगनमा छरिएको उज्यालो देख्छौ
पुर्खाकै हो जुन लय, जुन ध्वनी र बोली
तिमी मेरा कवितामा सुन्छौ
र मेरा पुर्खाले नै बनाएको देश हो त्यो
यात्रामा जहा पुगेर तिमी
बुद्धनजिक र हिमालको छेउ उभिन्छौ ।



















