कविता:

मनु मन्जिल
जबाफ नभएपछि
कसैले सोधेको प्रश्नको जबाफमा
अस्तिको साँझ
मैले केही गीतहरू गाएँ !
स्वर भरेर
शब्दको शून्यताभित्र
मैले आफूलाई वाचाल देखाएँ !
उसलाई
रहस्यका किनारहरू डुलेर
गुँड फर्कँदै गरेका चराहरू देखाएँ....
मेरा कथाहरू सुनाएँ
कविताहरू सुनाएँ ।
र ऊ यसरी गयो
मानौँ उसलाई जबाफ मिल्यो,
के जबाफ मिल्यो ?
अहिले म त्यसैको खोजीमा छु ।



















