कविता:

कृष्ण प्रसाई
केही जेन कविताहरू
१
असङ्ख्य प्रहार सहँदै
ढलिरहेको रुखलाई थाहा थिएन
उसलाई ढाल्ने बञ्चरोको बीँड
उसैको हाँगोबाट निर्मित थियो ।
२
जब अंशवण्डाको कुरा उठ्यो
मुस्किल पर्यो मिलाउन
बा, आमा
कसैको भागमा पर्नुभएन ।
३
मृत्युले त सबैलाई समाउँछ नै
तर धनीहरू यसरी ठट्टा उडाउँदै भन्दछन्–
गरिब थियो त्यसैले मर्यो ।
४
आर्यघाटमा
कुनै पनि लास
नोटका बिटाले जलिरहेका थिएनन् ।
५
इन्द्रिय बिना नै सुन्दर देखिन्छ हिमाल
जस्तो कि फूल
उसको पनि कहाँ हुन्छ र
लाज देखिने ठाउँ ?
६
धेरै सम्झाएँ
फकाउनसम्म फकाएँ
मेरो केही जोड चलेन
यमराजले घुस खानै मानेन ।
७
थाहा छैन
तिमीले खोजेको दाउराले
भरेको भान्सा पकाउँछ,
या घाटको चिता जलाउँछ ।
सत्य यही हो
दाउरा सल्केपछि
निस्किने धुवाँको रङ एकै हुन्छ
दुवैको खरानी उस्तै हुन्छ ।
८
जल्ने
जिउँदो छँदै रोइसकेको थियो
ऊ बेफिक्री जलिरहेको थियो
फरक—
जलाउनेहरू रुँदै थिए ।
९
सम्पूर्ण गुच्छाहरूको
शर्मनाक अपमान त्यतिखेर हुन्छ
जस्तो कि भर्खरै चुनावमा
बुथ थुतेर विजयी नेताको गलामा गलबन्दीझैं
मुर्झाएर लत्रिन्छ फूल ।
१०
जातको बहानामा उच्च अभियन्ताहरू
पानी बार्दछन्
दलितका घरमा मदिरा पिएर ।



















