कविता:

केशव सिग्देल
सिमाना
ध्यानस्थ भएर अविरल बगिरहेको नदीलाई
अभियुक्तजस्तो कठालो समातेर
समयको कठघरामा उभ्याइदियो भने
आफ्नै उद्गमको प्रमाण जुटाउन
के गर्छ होला नदी ?
नदीलाई राम्रै थाहा छ
फर्किगए पनि आफ्नो शिरसम्म
हिमालमा जोडिएको छ उसको नाभि
हिमालका चट्टानहरुलाई पनि थाहा छ
आकाशबाटै हो सहस्र झर्ने हिउँ र पानी
आकाशलाई पनि थाहा छ
महासागरमा समाधिस्थ छ
बादल उत्पन्न गर्ने तेजमय वाष्प र ध्वनि ।
आफ्नो उद्गम खोज्दाखोज्दै
नदी जब पुग्छ––
हिमालसम्म,
आकाशसम्म,
सागरसम्म,
साँध भत्काइरहेका मानिसहरु
के नापिसक्लान् हिउँको आयतन ?
के तोक्न सक्लान् आकाशको सिमाना ?
अथवा, समुन्द्रको ज्वारभाटामा
के भेट्टाउलान् सन्धिसर्पनको न्याय ?
नदीलाई
सम्झाइरहनु पर्दैन उसको धर्म
बगिरहन्छ नित्य
अनन्तसम्म ।
तर जुन दिन
आफ्नै उद्गमको प्रमाण खोज्न
आफ्नै शिरतिर बग्न विवश हुने छ नदी
त्यसपछि
सहस्र धमनी बनेर दौडाउने छ
हाम्रो शरीरको रगत
र ती सबै धमनीहरु छिनालिएपछि मात्र
कोरिनेछ भूगोलको नयाँ सिमाना ।



















