विश्वसाहित्य:

जिडि माजिया
(चीन)
निकिता स्तानेस्कुको चिहानमा* (कविता)
एक मिनेट मात्रै ढिलो भएको भए
तिम्रो देहले विश्राम लिइरहेको यो चिहानको गेट
अध्याँरोबाट अतिक्रमित हुनलाई बन्द भएको हुनेथियो ।
माटोमुनीको तिम्रो शयनमुद्राले
समयको तरवार आफैं तिम्रो ढाल बनेको छ
यति बेला, तिम्रो पाखुरा हड्डीको बाँसुरी बनेको छ
शब्दहरु अर्को छायाँको सङ्गित हुनेछन्
एकोहोरो हेरिरहेका आँखाहरु निस्तब्धताको चट्टान भएर गुज्रिनेछन्
विचारहरु लहरा जसरी अनन्तताको मेरुदण्ड उक्लनेछन्
नजिकै हिँडिरहेको आगन्तुक भाषाको स्पाती बाटो समातिरहेछ
ऊ भोका तारा र शून्यताका खाँवाहरु निलिरहेछ
जब जीवन एउटा कालो रथमा परिणत हुन्छ
जब मृत्युले तिम्रो जीवन रेखा परिभाषित गरिदिएको हुन्छ
र तिम्रो स्थिर खप्परले ताराहरुलाई अनदेखा गरिदिन्छ
एउटा महान चरा जस्तो गरी केवल तिम्रा सत्यनिष्ठ कविताहरु
शान्तपूर्वक रोमानियाको आकाश हुँदै बहँदै जानेछन् ।
*निकिता स्तानेस्कु (१९३३–१९८३) रोमानियाका एक प्रमुख आधुनिक कवि हुन् ।
अनुवादः केशव सिग्देल



















